अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ जनप्रतिनिधिका नयाँ जोस, थरी–थरीका निर्णयमा हस्ताक्षर

नयाँ जनप्रतिनिधिका नयाँ जोस, थरी–थरीका निर्णयमा हस्ताक्षर


काठमाडौं – संघीयता कार्यान्वयनसँगै दोस्रोपटक भएको स्थानीय निर्वाचनले नयाँ जनप्रतिनिधि छानेको छ । समाचार तयार पार्दासम्म २६ स्थान बाहेक अन्य तहको मतपरिणाम पनि घोषणा भएको छ । नयाँ चुनिएका जनप्रतिनिधिले सपथ खाएका छन् र लोकप्रिय निर्णयमा हस्ताक्षर गर्ने क्रम पनि बढ्दैछ ।

स्थानीय तहबाट सेवासुविधा नलिनेदेखि नयाँ नयाँ सुविधा नागरिकलाई दिने सम्मका प्रचारमुखि निर्णयमा हस्ताक्षर गर्ने जनप्रतिनिधिको संख्या बढ्दैछ । कतै विजय जुलुस मनाउन सार्वजनिक विदा समेत दिएको समाचार सार्वजनिक भएका छन् ।

दैलेखमा वडाले मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने
दैलेखको नारायण नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले वडामा कोही नागरिकको मृत्यु भए मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गर्नुभएको छ । निर्णयसम्बन्धी पत्र सार्वजनिक भएपछि उहाँको कतिपयले आलोचना पनि गरेका छन् । नेपाली कांग्रेसबाट ३७८ मत ल्याएर निर्वाचित बनेका श्रेष्ठले भने निर्णयको बचाउ गर्नुभएको छ ।

‘उनीहरूको परिवारमा कोही व्यक्ति निधन भएमा काजकिरिया गर्ने बेलामा पैसा हुँदैन । बाहिर अहिले वकालत गर्ने बेलामा उच्छृङ्खल तरिकाले गरे पनि त्यही पैसाले ठूलो राहत पुग्ला भन्ने हेतुले मैले त्यो निर्णय गरेको हुँ,’ श्रेष्ठले भन्नुभयो ।

उहाँले सामाजिक सञ्जालमा आफूमाथि भएका टिप्पणीप्रति कुनै सरोकार नभएको बताउनुभयो । ‘त्यो पनि न्यून आय भएको व्यक्तिका लागि । सु–सम्पन्न व्यक्ति त लिन नै आउँदैन नि ?,’ उहाँले भन्नुभयो, ‘वर्षमा कम्तिमा ५÷१० वटै व्यक्तिहरुको निधन होला । मैले गरेको निर्णयका आधारमा त्यो किसिमको रकम वडामा दिन नमिल्ने भए, वा पालिकाले नदिने भएपनि मेरो पारिश्रमिकले पनि पुग्छ । पारिश्रमिकबाट भए पनि दिन्छु ।,’

सेवा सुविधा नलिने घोषणा
प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । एमसीले अध्यक्षका हैसियतमा राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिने घोषणा गर्नुभएको हो । शुक्रबार झिमरुकको पालिका सभाहलमा जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष एमसीले राज्यले दिने सेवा सुविधा शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने बताउनुभयो ।

अध्यक्ष एमसीले भन्नुभयो, ‘अध्यक्षले पाउने सुविधा म लिन्नँ, पालिकाको शिक्षा र सामाजिक क्षेत्रमा खर्चिन्छु ।’ तत्कालीन बाँदीकोट गाउँ विकास समितिका पूर्वअध्यक्ष एमसी नेकपा (माओवादी केन्द्र) प्युठानका संयोजक हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाका टीका जीसीलाई पराजित गर्दै एमसी पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बीमा र विद्युत् महसुलमा छुट
गुल्मीको चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकको स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । अध्यक्ष युवराज केसीले पदभार ग्रहण गर्दै गाउँपालिका विपन्न नागरिकको स्वास्थ्य बीमामा गाउँपालिकाले ५० प्रतिशत छुट दिने बताउनुभयो ।

यस्तै पालिका भित्रका स्वास्थ्य संस्थामा प्रसूति समस्या भई अन्य अस्पताल लैजानका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । पालिकाका स्वास्थ्य संस्थालाई गुणस्तरीय बनाइ दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्ने गरी आफूले योजना बनाएको अध्यक्ष केसीले बताउनुभयो ।

यस्तै रुरुक्षेत्र गाउँपालिकाले नागरिकको न्यूनतम विद्युत् महसुलमा छुट दिने निर्णय गरेको छ । पालिकाका विपन्न नागरिकलाई न्युनतम विद्युत् महसुल गाउँपालिकाले तिर्दा कम आय भएका नागरिकलाई राहत हुने अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।

कतै एम्बुलेन्स सेवा निशुल्क, कतै नगरबस सञ्चालन
दैलेखमा कतै गर्भवती तथा सुत्केरी महिलालाई एम्बुलेन्स सेवा निशुल्क गर्ने त कतै नगरबस सञ्चालन गर्नेसम्मका निर्णय गर्नमा नवनिर्वाचित जनप्रतिनिधिहरू हौसिनुभएको छ । कतिपय जनप्रतिनिधिहरूले कार्यकालभरि पाउने पारिश्रमिक नलिने घोषणासमेत गर्नुभएको छ । मतदातासमक्ष थुप्रै आश्वासन र सपना बाँडेर निर्वाचित भएका जनप्रतिनिधिहरूले फेरि जनता रिझाउने खाले निर्णयहरू भएका छन् ।

दुल्लु नगरपालिकाको प्रमुख भरतप्रसाद रिजाल र उपप्रमुख बिना कार्कीले पदभार ग्रहणसँगै गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको छ । उहाँहरूले गरेको निर्णयमा सोही नगरमा रहेको अस्पतालको सेवा अपर्याप्त भएको उल्लेख छ ।

गर्भवती तथा सुत्केरी महिलाहरूलाई थप उपचारका लागि दुल्लुक्षेत्रभन्दा बाहिर लिनुपर्ने अवस्थामा दुल्लु अस्पतालको सिफारिसमा नगरले निःशुल्क एम्बुलेन्स सेवा दिने नगर उपप्रमुख कार्कीले बताउनुभयो ।

भैरवी गाउँपालिकाका अध्यक्ष रीताकुमारी शाहीले गाउँपालिकामा दुईवटा नगर बस सञ्चालन गर्ने र गर्भवती महिला र सुत्केरी महिलालाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने पहिलो निर्णय गर्नुभएको छ । चामुण्डाविन्द्रासैनी नगरका मेयर गणेशकुमार शाहीले जनताका समस्या सम्बोधनका लागि नगरपालिकामा निःशुल्क टोल–फ्रि सेवा सञ्चालन गर्ने निर्णय गर्दै कार्यभार सम्हाल्नुभयो ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवाकुमारी खड्काले गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने, बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गर्नुभयो । कार्यभार सम्हाल्दा उहाँहरूले मोबाइल नेटवर्कको पहुँच नपुगेको स्थानमा समस्या समाधान गर्ने, फर्निचर अभाव रहेका स्कुलमा तत्काल व्यवस्थापन गर्ने निर्णयसमेत गर्नुभएको छ ।

नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले आफूले पाउने पारिश्रमिक नलिने घोषणा गर्नुभयो । उहाँले आफूले गाउँपालिकाबाट पाउने तलब र भत्ता अक्षयकोषमा जम्मा गरेर द्वन्द्व पीडित, जेहेनदार र गरिब बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने बताउनुभयो ।

जुम्लामा फ्री वाइफाइको कुरा
जुम्लाामा नवनिर्वाचित जनप्रतिनिधिहरूले सूचना, सञ्चार, स्वास्थ्य क्षेत्रका विषयमा ध्यान दिन थाल्नुभएको छ । हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले नागरिकको स्वास्थ्य बिमा निःशुल्क गर्ने पहिलो निर्णय गर्नुभयो ।

उहाँले सामुदायिक तथा सरकारी विद्यालयमा अंग्रेजी शिक्षा सुरु गर्ने, सबै सरकारी कार्यालयमा फ्री वाइफाई जडान गर्ने, सीसीटीभी जोडेर हरेक कामको निगरानी राख्ने निर्णयमा दस्तखत गर्नुभयो । जेष्ठ नागरिक, गर्भवती महिला, विपन्न नागरिक, अपांगता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णयमा समेत अध्यक्ष शाहीले हस्ताक्षर गर्नुभएको हो ।

सबै पालिकामातहतका सरकारी कार्यालय र विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर शाहीले जानकारी दिनुभयो । हिमामा २ हजार एक सय ५८ घरधुरीमा १३ हजार १ सय ३४ जनसंख्या छ ।

डोटीमा थरीथरीका निर्णय
डोटीको दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बाजीसिंह खड्का (विजय) ले नगरपालिकाभित्रका गर्भवतीलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पु¥याउन नगरपालिकाले एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभयो ।

नगरपालिकाभित्रैका स्वास्थ्य संस्थामा पु¥याउनका लागि निःशुल्क र जटिल समस्या आई बाहिर लैजानुपरेमा एम्बुलेन्सको भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभयो । दिपायल सिलगढी नगरपालिकाका प्रमुख खड्काले नगरपालिकाभित्र खैलमैदान निर्माण गर्ने घोषणा गर्नुभयो ।

पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले विपन्न परिवारका लागि जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभयो । पूर्वीचौकी गाउँपालिकाका विपन्न समुदायले पेट पाल्नकै लागि विदेश जानु पर्ने र विदेशमा पनि उनीहरुको श्रम शोषण हुने गरेको बताउँदै नवनिर्वाचित अध्यक्ष उपाध्यायले गाउँपालिकाभित्रका विपन्न परिवारको तथ्याङ्क संकलन गरी जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभयो ।

आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर खड्काले गरीब परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिने घोषणा गर्नुभयो । आफ्नो घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै खड्काले गरीब पहिचान गरी निःशुल्क शिक्षा शुक्रबारबाटै सुरु भएको बताउनुभएको छ । यस्तै उहाँले महिला स्वास्थ्य स्वयंसेविका, सुत्केरी महिला र जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
सायल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धर्मराज जोशीले पनि आफ्नो पदभार ग्रहणका क्रममा सुत्केरी महिलालाई उपचारमा असहज भई बाहिर उपचार्थ लानुपरेमा एम्बुलेन्स सेवा निशुल्क गर्ने घोषणा गर्नुभयो ।

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले पदभार ग्रहणका क्रममा टुहुरा बालबालिकालाई १० कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गनुएभयो । उहाँले स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका महिलाहरुलाई र ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिका लागि कैलालीको धनगढीसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

लमजुङमा बसलाई शव वहान बनाउने
लमजुङको सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले हाल शव बोक्न शव वहान नभएकाले एउटा बसलाई शव वहान बनाउने निर्णय गर्नुभएको छ । उहाँले प्रमुख प्रशासकिय अधिकृतलाई यसको व्यवस्था गर्ने निर्देशन दिएको बताउनुभयो ।

विजय उत्सव मनाउन सार्वजनिक बिदा

विजय उत्सव बनाउन सप्तरीको रुपनी गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्रका सरकारी संस्था, शिक्षण संस्था र स्वास्थ्य संस्थामासमेत बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत अरविन्दकुमार चौधरीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत चौधरीले बिदाको सूचना पनि सार्वजनिक गर्नुभएको छ । जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहरूमा सार्वजनिक बिदा दिइएको उक्त सूचनामा उल्लेख छ ।