अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्पदा पुनःनिर्माणमा दुई अर्ब

सम्पदा पुनःनिर्माणमा दुई अर्ब


काठमाडौं – कोभिड महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसम्बद्ध व्यवसायलाई आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक इजाजत र नवीकरण दस्तुर छुट दिइएको छ ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःसंरचनाको काम आगामी आर्थिक वर्षभित्र सक्ने गरी रु.दुई अर्ब बजेट विनियोजन गरिएको छ । पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षण गरिनाका साथै प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जन तथा साहसिक पर्यटनका लागि हिल स्टेशन निर्माण गरिने अर्थमन्त्री शर्माले बताउनुभयो ।

स्थानीय तहको साझेदारितामा सञ्चालित पर्यटन पूर्वाधार विकासका लागि रु.९० करोड विनियोजन गरिएको छ । आरोहणका लागि खुला गरिएको हिमालको आधार शिविरसम्म पुग्ने पदमार्गको स्तरोन्नति गरिनाका साथै पदमार्गमा सञ्चार सुविधाको व्यवस्था गरिने बजेटमा उल्लेख छ । उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालयन ट्रेलको निर्माणका लागि रु ३३ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा एक किराँत सङ्ग्रहालय स्थापना गर्नाका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ । सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई स्तरोन्नति गरी निजी क्षेत्रमार्फत दुई घण्टामा सगरमाथा पुगेर अवलोकन गर्नसक्ने वातावरण बनाइनेछ । नेपालको ऐतिहासिक शासकीय सङ्ग्रहालय स्थापना गरिनेछ । पर्यटन क्षेत्रका लागि रु नौ अर्ब ३८ करोड विनियोजन गरिएको छ ।