अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा दुई प्रमुखसहित ६४ राजवंशी समुदायबाट निर्वाचित

झापामा दुई प्रमुखसहित ६४ राजवंशी समुदायबाट निर्वाचित


झापा – स्थानीय तहको निर्वाचन २०७९ बाट आदिवासी राजवंशी समुदायको मूलथलो रहेको झापामा दुई पालिका प्रमुखसहित ६४ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

पालिका प्रमुखमा कचनकवल गाउँपालिकाबाट कालेन्द्रप्रसाद सिंह राजवंशी र गौरीगञ्ज गाउँपालिकामा फूलमति राजवंशी निर्वाचित हुनुभएकोे छ । यसअघि विसं २०७४ को निर्वाचनबाट एक अध्यक्षसहित ४८ जना मात्र राजवंशी समुदायबाट जनप्रतिनिधि निर्वाचित भएका थिए ।

निर्वाचनबाट गौरादह नगरपालिकाको उपप्रमुखमा जलवर्षा राजवंशी, १० जना वडाध्यक्ष तथा ५१ जना सदस्यमा राजवंशी समुदायबाट निर्वाचित हुनुभएको छ । आफ्नो समुदायबाट निर्वाचितलाई राजवंशी विकास प्रतिष्ठानले कचनकवल–३ स्थित राजवंशी समाज विकास समितिमा शनिबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा जिल्लाका राजवंशी जनप्रतिनिधिले आफ्नो जातीय अस्तित्व जोगाउन अब सबैले एक भएर अधिकार खोज्नुपर्ने बेला आइसकेको धारणा राख्नुभएको थियो । प्रदेश सांसद पूर्णसिंह राजवंशीले राजनीतिक दलहरुले ‘थापना’का रुपमा मात्र राजवंशी समुदायलाई स्थान दिने गरेको बताउँदै राजनीतिप्रति चासो र चेतना जोगाउनेकार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

अघिल्लो निर्वाचनमा भने एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, १२ वडाध्यक्षसहित ४८ जना निर्वाचित भएका थिए ।