अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसदहरूको प्रश्न : किसानलाई कहिले मल दिने सरकारलाई थाहा छैन ?

एमाले सांसदहरूको प्रश्न : किसानलाई कहिले मल दिने सरकारलाई थाहा छैन ?


काठमाडौं – नेकपा एमालेका सांसदहरूले किसानलाई कहिले मल दिनुपर्छ भन्ने सरकारलाई थाहा छैन भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभामा स्थगन प्रस्तावमाथि आज छलफलमा भाग लिँदै सांसदहरूले भन्नुभयो, ‘नेपाल कृषि प्रधान मुलुक हो । कुन सिजनमा मल चाहिन्छ भन्ने सरकालाई अझै थाहा छैन ?’

खेतीको समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै उहाँहरूले सरकारको आलोचना गर्नुभएको थियो । उहाँहरूले मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रका किसानलाई भारतबाट मल बोकेर आउँदा दुःख नदिन पनि सुझाव दिनुभयो ।

सांसद सरिताकुमारी गिरीले बोर्डर क्षेत्रमा मल लिएर आउने किसानलाई दुःख नदिनका लागि गृह मन्त्रालयले प्रहरी प्रशासनलाई निर्देशन दियोस् भन्ने माग गर्नुभयो । सांसद यज्ञराज सुनुवारले मन्त्रालयमा जाँदा नभेटिने, संसदमा नभेटिने मन्त्रीलाई स्थगन प्रस्तावले कमसे कम संसदमा खडा गराएको भन्दै मलको अभावबारे मन्त्रीबाट प्रस्ट कुरा आउने अपेक्षा गर्नुभयो ।

‘गठबन्धन सरकारलाई असार महिना किसानले खेती लगाउने बेला हो भन्ने थाहा भए पनि मल उपलब्ध गराउन सक्दैन,’ उहाँले भन्नुभयो, ‘विद्यार्थी पाठ्यपुस्तक चाहन्छन्, सरकार पुस्तक दिन सक्दैन । किसान मल चाहन्छन्, सरकार मल दिन सक्दैन । सांसदहरु विकास चाहन्छन्, सरकार विकास दिन सक्दैन ।’

सांसद नवराज सिलवालले चीन, अमेरिका, भारत रासायनिक मल उत्पादनमा क्रमशः पहिलो, दोस्रो र तेस्रो मुलुक रहेको भन्दै दुई छिमेकी मुलुक मल उत्पादनमा अग्रणी रहँदा समेत नेपालले मल किनेर ल्याउन किन सक्दैन भन्ने प्रश्न गर्नुभयो ।