अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरादहको नीति कार्यक्रम : सुत्केरीलाई २ हजार भत्ता देखि कृषी प्राविधिक खेतमा,पशु प्राविधिक गोठमा सम्म

गौरादहको नीति कार्यक्रम : सुत्केरीलाई २ हजार भत्ता देखि कृषी प्राविधिक खेतमा,पशु प्राविधिक गोठमा सम्म


गौरादह : दक्षिण झापाको गौरादह नगरपालिकाले सुत्केरीलाई २ हजार रुपैंया भत्ता दिने देखि कुकुरको बन्ध्याकरण गर्नेसम्मका कार्यक्रमहरु समेटेको छ ।
आज नगरप्रमुख छत्रपति सुवेदीले नगरसभामा पेश गरेको नीति कार्यक्रममा दुई सन्तान जन्माउदासम्म हरेक सुत्केरी महिलालाई सुत्केरी खर्च बापत २ हजार रुपैंया दिने कार्यक्रम उल्लेख गरिएको छ । नगरपालिकाले कृषि केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गौरादहलाई माछामा आत्मनिर्भर बनाउने मात्र हैन निर्यात गर्ने गरी उत्पादन गर्न प्रोत्साहन गरिएको छ ।
कृषी तथा पशुपंक्षी शिर्षक अन्तरगत २७ वटा कार्यक्रमहरु प्रस्ताव गरिएको छ । जसमा सिंचाइ सुविधामा सबैको पहुँच पु¥याउने देखि बीउबिजनमा अनुदान दिनेसम्मका कार्यक्रमहरु रहेका छन् । आज प्रष्तुत गरिएको नीति कार्यक्रममा महारानीझोडामा सञ्चालन गरिएको सामुहिक खेती प्रणालीलाई अन्यत्रका वडाहरुमा समेत विस्तार गरिने उल्लेख छ । यसैगरी कृषीजन्य उत्पादनलाई बढावा दिन ‘कृषी प्राविधिक खेतमा,पशु प्राविधिक गोठमा’ कार्यक्रम सञ्चालन गरिने छ ।
नगरपालिकाले आधारभुत तहको स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी गरेको छ । पालिकाभरीका विद्यालयमा प्राविधिक शिक्षालाई प्रोत्साहन गरिएको छ । शिक्षक र विद्यार्थीको अनुपात अनुसार दरवन्दी मिलान गरिने र विद्यालयलाई एक आपसमा गाभ्ने कार्यलाई आवश्यकता अनुसार बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महिला र पुरुषको समान श्रम तर असमान ज्यालाको चलनलाई निरुत्साहित गर्दै समान ज्याला लागु गर्ने नीति नगरपालिकाले लिने भएको छ । यसैगरी घर निर्माण गर्दा अनिवार्य रुपमा दुईवटा विरुवा रोप्नै पर्ने नियम लगाइने भएको छ । यसैगरी कार्यलयहरुमा विद्युतीय हाजिरीको व्यवस्था गरिने भएको छ । छाडा छाडा कुकुरहरुलाई बन्ध्याकरण गरिने कार्यक्रम पनि नगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।
नगरप्रमुख छत्रपति सुवेदीका अनुसार कृषीमा आश्रित नगरपालिका भएकोले धेरै कार्यक्रमहरु किसान र कृषीमा केन्द्रीत भएका छन् । ‘नगरपालिकाले व्यवस्थित सहरीकरणका लागि ल्याण्ड पुलिङ कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ’ सुवेदीले यो बेलासँग भन्नुभयो ‘निर्वाचित भएर आएको छोटो समयमा नीति कार्यक्रम तयार गर्नु पर्ने भएकोले यसमा केही सुधार भए आगामी १० गतेसम्म सुझाव दिन पनि हामी सबैलाई आग्रह गर्दछौं ।’ नगरपालिकाले आगामी १० गते आगामी वर्षको बजेट प्रष्तुत गर्ने भएको छ ।