अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशमा अर्थमन्त्रीलाई कारबाही गर्न या राजीनामा दिन एमालेको दबाब

गण्डकी प्रदेशमा अर्थमन्त्रीलाई कारबाही गर्न या राजीनामा दिन एमालेको दबाब


पोखरा – गण्डकी प्रदेशमा सत्तारुढ दलहरुको विवादका कारण बजेटमाथि छलफल नै रोकिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्रीको राजीनामा मागेको छ ।

एमालेले बुधबार पत्रकार सम्मेलन गरी अर्थमन्त्री रामजी बरालले मुख्यमन्त्रीकै निर्देशन र मन्त्रिपरिषदकै निर्णय उल्लंघन गर्दा पनि सरकार निरीह बनेको बताएको छ ।

एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङको प्रश्न छ, ‘बजेट भएपछि छलफलको प्रक्रियामा जानुपर्नेमा सत्तासीन पार्टीभित्रको विवाद, अर्थमन्त्री र मुख्यमन्त्रीबीचको विवादका कारणले बजेट छलफल रोक्न मिल्छ ?’

नीति तथा कार्यक्रम पारित गर्ने बेलामा नै सरकार संकटमा परेको उहाँले बताउनुभयो। नीति तथा कार्यक्रम पेस हुँदा सरकारकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य अनुपस्थित हुनुहुन्थ्यो। उहाँलाई मनाएर नीति तथा कार्यक्रम पास गरेको सत्तारुढ गठबन्धनमा अहिले बजेटको विवाद छ ।

अर्थमन्त्री रामजी बरालले एकलौटी गरेको, मन्त्रालयले सिलिङभित्र रहेर पठाएको कार्यक्रम नै काटेको, मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको निर्देशन अवज्ञा गर्दै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नै हटाएको भन्दै सत्ता पक्षमै विवाद छ । विवादका कारण प्रदेशसभामा बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।