अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खेताला पाउनै कठिन

खेताला पाउनै कठिन


नवलपुुर – सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा मनाउने घोषणा गरेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) सहित देशभर आज रोपाइँ महोत्सव गरिँदैछ ।

असारलाई मानो रोपेर मुरी उब्जाउने समयका रुपमा समेत कृषकहरुले लिने गरेका छन् । असार लागेसँगै कृषकहरुलाई खेतबारीमा कामको चटारो छ । मकै स्याहार्न तथा धान रोप्ने खेतको तयारीमा कृषकहरु जुटेका छन् ।

जिल्लाका अधिकांश स्थानमा बर्खेधानको रोपाइँ सुरु भइसकेको छ । खेत रोप्दै गरेका भने खेतीपानी गर्नका लागि खेताला नपाउने समस्या रहेको बताउँछन् । प्रविधिको विकाससँगै खेतबारीमा राँगा र गोरुले जोत्ने चलन हराइसक्यो । इन्धनको मूल्यवृद्धि भएसँगै ट्र्याक्टरको प्रयोग अत्यधिक महँगिएको किसानहरुले अनुभूति गरेका छन् ।

पछिल्लो समय कृषकहरुलाई खेती गर्नका लागि झन् भन्दा झन् गाह्रो हुँदै गएको कावासोती–१७ का कृषक पिताम्बर सुवेदी बताउनुभयो । “अहिले खेतबारीमा काम गर्ने खेतालाहरु पाउनै मुस्किल छ । खेताला पाइहाले पनि रोपाइँका लागि आवश्यक पर्ने सिँचाइको असुविधा छ,” उहाँ भन्नुभयो, “महँगीका कारण सबै कुराको भाउ अत्यधिक बढ्यो । अब खेती किसानी गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था बिस्तारै हराउन थालेको छ ।”

गाउँघरका युवाहरु विदेसिने क्रम बढेकाले समेत कृषि कर्मका लागि खेतालाहरु पाउनै कठिन भएको मध्यविन्दु–३ का कृषक जुगतराम थनेतको भनाइ छ । “धान खेतीका लागि आधुनिक प्रविधि भित्रिएको भए पनि ती प्रविधिहरु सबै कृषकको पहुँचमा छैनन्,” उहाँ भन्नुभयो, “प्रविधिबाट रोपाइँको काम सुरु भए पनि केही कामका लागि भने मानिसको श्रम नै आवश्यक पर्छ तर काम गर्ने युवाहरु तथा जनशक्ति नै छैनन् ।” गाउँघरमा बूढाबूढी र केटाकेटी तथा महिला मात्रै भेटिने गरेका भन्दै थनेतले आवश्यक पर्ने बेलामा बाउसे र रोपाहारहरु पाउनै नसकिने बताउनुभयो ।

मुस्किलले पाउने खेतालाको ज्याला र धान रोप्दा लागेको खर्च जोड्ने हो भने आम्दानीभन्दा खर्च बढी लाग्ने गरेको थनेतको भनाइ छ । उन्नत जातको धान रोपेर धेरै उत्पादन गर्ने अभिलाषा पाल्नुभएका उहाँले धान बेचेर नै वर्षभरिको खर्च धान्ने गर्नुभएको छ । तर सबै क्षेत्रमा महँगी बढेसँगै खेती गर्न गाह्रो भएको थनेतले गुनासो गर्नुभयो । “खेताला महँगिएका छन् । ट्र्याक्टर भाडा उस्तै महँगो छ । उत्पादनभन्दा खर्च बढी भएको छ ।

अब कसरी खेतीपाती गरेर जीविका चलाउने हो रु,” उहाँले भन्नुभयो, “एकजना खेतालाले प्रतिघण्टा रु १२० का दरले ज्याला लिन्छन् । अनि ट्र्याक्टरले जोतेको प्रतिमिनेट रु ४५ लिने गरेको छ ।” धान रोपाइँका लागि खेताला नपाउने समस्या एकतिर हुँदाहुँदै अर्कोतिर धानबालीमा हाल्ने मलको अभावसमेत कृषकहरुले खेप्नु परेको उहाँको भनाइ छ । धान रोप्ने समयमा कहिल्यै पनि रासायनिक मल नपाउने गरेको जनाउँदै उहाँले सहकारीमा गएर घण्टौँ लाइन बस्दा पनि रित्तो हात फर्किनुपर्ने अवस्था रहेको बताउनुभयो ।

कावासोती–१७ कि गीता विकले धान रोप्ने समयमा मल, बीउ नपाउने र खेतालाको समस्या हुनाका साथै उत्पादन पछि पनि बिक्री गर्दा उचित मूल्य नपाउने गरेको गुनासो गर्नुभयो । स्थानीय सरकारले खेती गर्नका लागि आधुनिक मेसिन सहुलियत रुपमा वितरण गरेका किसानलाई राहत हुने विकले बताउनुभयो । “अब खेताला पाउन गाह्रो छ पाएको खेतालाको मूल्य पनि धेरै छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थाका स्थानीय सरकारले धान रोप्ने मेसिन अनुदानमा दिने हो भने हामीलाई राहत हुने थियो ।”

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले जिल्लामा यस वर्ष २० हजार ५८० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइने बताउनुभयो । जिल्लाको धान खेती गरिने कूल क्षेत्रफलमध्ये ५५ प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने लामिछानेको भनाइ छ । जिल्लामा कुलो, बोरिङ, ट्युवेल लगायतबाट धान खेतीमा सिँचाइ हुने गरेको लामिछानेले बताउनुभयो ।

मुख्यगरी जिल्लाको दक्षिणी भागमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटका दक्षिणी भागहरुमा धान खेती राम्रो हुने गरेको उहाँले भन्नुभयो, “पहाडी क्षेत्र बुलिङटारमा पनि धानको उत्पादन राम्रो छ ।” जिल्लाको कूल खेतीयोग्य जमिन ४९ हजार ७४७ हेक्टर रहेको छ ।

कूल खेतीयोग्य क्षेत्रफलको करिब ३१ प्रतिशत जमिनमा मात्रै धान खेती हुँदै आएको प्रमुख लामिछानेले बताउनुभयो । जिल्लामा धान खेती विस्तारका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको प्रमुख लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले धान खेती गर्ने किसानका लागि अनुदानमा बीउ, मल, सिँचाइलगायत सुविधा प्रदान गर्दै आएको छ ।

नवलपुरमा सावित्री, सावा मन्सुलीसहित वर्णशङ्कर जातका धान उत्पादन हुने गरेको छ । जिल्लामा रैथाने धानको खेती भने बिस्तारै हराउँदै गएको छ ।

Skip This