काठमाडौँ-दलित समुदायले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भेट नदिएको भन्दै आक्रोश व्यक्त गर्दै काठमाडौँमा आन्दोलन सुरु गरेका छन्।
सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा शंकास्पद रूपमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्माका आफन्तले भेट्न प्रयास गर्दा पनि प्रधानमन्त्री शाहले समय नदिएपछि आइतबार काठमाडौँको माइतीघर मण्डलामा आन्दोलन गरेका हुन्।
विश्वकर्मालाई न्याय दिनुपर्ने माग राख्दै प्रधानमन्त्री शाहको आलोचनासहित प्रदर्शन गरेका छन्।
संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालिले श्रीकृष्णको प्रहरी चौकीमै हत्या भएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनका लागि सरकारलाई दबाब दिए। प्रधानमन्त्री शाह आफैँ गृह र रक्षामन्त्रीसमेत रहेको अवस्थामा पीडित परिवारले न्यायको गुहार माग्न जाँदा भेट्नसमेत नपाउनु गम्भीर विषय भएको उनको भनाइ छ।
संयोजक श्रीपालिले सरकारले गठन गरेको छानबिन समितिप्रति आशङ्का व्यक्त गरे। घटना खुर्कोट प्रहरी चौकीमै भएकाले छानबिन पनि त्यहीँबाटै सुरु हुनुपर्ने र परिवारका सदस्यले न्यायका लागि मुद्दा दर्ता गर्न पाउनुपर्ने उनको माग छ ।
विरोध प्रदर्शनका क्रममा सहभागीहरूले दलितमाथि हुने सबै प्रकारका हत्या र हिंसाको अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।







प्रतिक्रिया