अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा

१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा


काठमाडौं-सरकारले बागमती नदी तथा यसका सहायक नदी किनारमा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ। हालसम्म आफूलाई सुकुम्बासी दाबी गर्दै १८१६ परिवारका ७७८९ जना सरकारको सम्पर्कमा आएका छन्।

सरकारी तथ्याङ्कअनुसार, सम्पर्कमा आएकामध्ये ७९४ जनालाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। उनीहरूलाई अस्थायी रूपमा सुरक्षित आवास, खानपान तथा आवश्यक आधारभूत सेवाको व्यवस्था गरिएको सरकारले जनाएको छ।

यसैबीच, दशरथ रंगशालामा सञ्चालन गरिएको स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा बसोबासको व्यवस्था गर्ने भन्दै बाहिरिएको जानकारी दिइएको छ।

सरकारले हाल चार स्थानलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिरहेको छ। तीमध्ये कीर्तिपुर स्थित राधास्वामी सत्सङ्ग भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुर स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा बोडेमा रहेको कृषि तालिम केन्द्र रहेका छन्।

सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानलाई व्यवस्थित बनाउने दाबी गर्दै प्रभावित परिवारहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि समेत योजना अघि बढाइएको जनाएको छ। साथै, सार्वजनिक जग्गा संरक्षण र बाढी जोखिम न्यूनीकरणका लागि अभियानलाई निरन्तरता दिने स्पष्ट पारेको छ।