अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोदावरीका महिलाहरुले ‘ध्वनी प्रदुषण’ बिरुद्ध दिए उजुरी

गोदावरीका महिलाहरुले ‘ध्वनी प्रदुषण’ बिरुद्ध दिए उजुरी


ललितपुर – गोदावरी नगरपालिका वडा नं. ३ टौखेलका पाँचजना महिलाहरुले स्थानीय राजबहादुर साह विरुद्ध ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै न्यायिक समितिमा साउनको शुरुमै उजुरी दर्ता गराएका छन् ।
साहले घरभित्रै बर्कसप सञ्चालन गरेर गाडी मरमतका कामहरु समेत गर्दा आउने ध्वनी प्रदुषणलाई रोक्न छिमेकीहरुले वडा कार्यालय र स्थानीय प्रहरीलाई बारम्बार उजुरी गर्दा समेत सुनवाई नभएपछि न्यायिक समितिमा उजुरी दिनु परेको गोदावरी नगरपालिका ३ की पवित्रा आचार्यले बताइन् ।
महिलाहरुले सामुहिक रुपमा दिएको उजुरीमा साहमाथी चारवटा आरोप लगाइएको छ । उजुरी कर्ता महिलाहरुका अनुसार साहले नेपाल सरकारको सवारी मापदण्ड विपरित धेरै पुराना गाडीहरु घर कम्पाउण्ड भित्र ल्याएर छिमेकीलाई साउण्ड पोलुसन हुनेगरी गाडीको वर्कसप सञ्चालन गरिरहेका छन् । बस्तीभित्र वर्कसप संचालन गर्दा छिमेकीहरुको सहमति लिनु पर्नेमा त्यो केही गरिएको छैन । पाँचबर्षदेखि उक्त काम गरिरहेको भएपनि स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायहरुमा पटक पटक जानकारी गर्दा समेत कुनै सुनवाई नभएको बताए ।
गएको माघ १३ गते स्थानीय समुदायले नजिकको प्रहरी चौकी र वडा कार्यालयमा ध्वनी प्रदुषण भएको भनेर उजुरी गरेका थिए । लगतै माघ २० गते जिल्ला प्रहरी कार्यालय ललितपुरलाई शान्ति सुरक्षा सम्बन्धी निवेदन साहका छिमेकी पवित्रा भण्डारी आचार्यले दिएकी थिइन् । जिल्ला प्रहरीले प्रहरी प्रभाग बाँडेगाउँलाई कारवाहीका लागि पत्राचार गरेको भएपनि लामो समयसम्म साहलाई कुनै कारवाही गरेको पाइदैन । साह उद्यमी भएकाले उनको पहुँचले कारवाही गर्न जनप्रतिनिधिहरु पनि हिच्किचाइ दिनाले सर्वधाराणले दुःख पाएको देखिन्छ ।
उजुरी कर्ता आचार्यका अनुसार पटक पटक तागेता गर्दा प्रहरीले एक पटक उनको घरमा आएर साउण्ड डिटेक्टर लगाएर एसीको आबाज परीक्षण गरेको थियो । सो परीक्षण पछि राजबहादुर साहको घरमा बस्नेहरुलाई प्रहरीले बोलाएर अत्याधिक आबाज दिने एसी नचलाउन वा छिमेकीलाई ध्वनी प्रदुषण नहुने व्यवस्था मिलाउन आदेश दिएपनि साहपक्षले मानेको देखिदैन ।
दिनभरी काम गरेर राती सुत्नेबेलामा निन्द्रा खल्बलिने गरी साहका घरमा पालिएका पाँच कुकुरहरु मध्ये दुईवटा ‘टिबेटियन मासटीफ’ जातका छन् । ती कुकुरहरु एकहोरो भुकिरहने बानी भएकोले छिमेकीहरु रातभर सुत्न पाएका छैनन् । उनीहरुका अनुसार उक्त जातको कुकुरलाई चीन र अमेरिकाको केही प्रान्तमा पाल्न बन्देज लगाइएको छ । तर नेपालमा टोलै थर्काएर रातभर भुकिरहने कुकुबाट छिमेकीलाई परेको असरबारे कसैले सुनवाई नगरेको महिलाहरुको दुःखेसो छ ।
लामो समयदेखि न्यायका लागि विभिन्न सरोकारवालाहरुलाई गुहारी रहेका टौखेलका महिलाहरुले गोदावरी नगरपालिका वडा नं. ३ मा फागुन ३० गते दर्ता नं. १९५२ मा दर्ता गरेका छन् । तर त्यसले पनि कुनै निकास नदिएकोले अन्तिममा न्यायिक समितिमा उजुरी हालिएको पिडित महिलाहरुले बताएका छन् ।
साहले बनाएको घर तथा आवास सम्बन्धी मापण्ड विपरित कम्पाउण्डबाट बाहिरतर्फ खुल्ने गेट राखेको र मुलुकी अपराध संहिता २०७४ को दफा १४८को ख १४९ र १५० विपरित सार्वजनिक रुपमा भोगचलन गर्दै आएको तथा छिमेकीहरुको सहमति बिना मनोमानी ढंगबाट सडकलाई क्षति पु¥याएको आरोप उक्त निवेदनमा लगाइएको छ ।
उजुरी निवेदनमा बातावरण संरक्षण ऐन २०५३ विपरित साहले हालसम्म कुनैपनि निकायबाट स्वीकृति नलिई मानव शरिरको लागि घातकहुने ग्रीस, मेटल , डस्ट, पेट्रोल डिजेलका टक्सी, धुँवा लगायत अन्य हानीकारक रसायन उत्सर्जन गरी प्राकृतिक वातावरण प्रदुषित हुनेगरी, यान्त्रिक ध्वनी प्रदुषण हुनेगरी लामो समयदेखि वर्कसप सञ्चालन गर्दै आएको भनिएको छ ।
साथै वर्कसप सञ्चालन गर्न चारकिल्लाको सहमति लिनुपर्नेमा सो केही नलिई सञ्चालन गरेकाले कारवाही गरिपाउँ भनी न्यायिक समितिमा उजुरी दिएका हुन । घरमा धेरै समय महिला नै बस्नु पर्ने भएकोले ध्वनी प्रदुषणले गर्दा विद्यार्थीहरुले पढ्न नपाएका तथा महिलाहरु बढी पिडित भएका निवेनकर्ताहरुले बताएका छन् ।
उजुरी गर्ने महिलाहरु गोदावरी नगरपालिका वडा नं. ३, टौखेलका पवित्रा भण्डारी आचार्य, मन्दिरा कुँबर, बिना कुँवर, रबिना तामाङ् तण्डुकार र कोपिला कुँबर छन् ।