अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर २ र ३ गते हुने एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पूरा, ३ हजार ४१४ जना सहभागी हुने

मंसिर २ र ३ गते हुने एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पूरा, ३ हजार ४१४ जना सहभागी हुने


काठमाडौं-नेकपा (एमाले)ले २०८३ मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पूरा भएको जनाएको छ।

पार्टी कार्यालय च्यासलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीसम्मका गरी ३ हजार ४१४ जना सहभागी हुने जानकारी दिए।

आचार्यले पत्रकार सम्मेलनमार्फत भेलाको तयारी, उद्देश्य र कार्यक्रमबारे जानकारी दिँदै राष्ट्रिय भेलालाई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको बताए।

उनका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था, लोकतान्त्रिक मूल्य-मान्यता, विधिको शासन र नागरिक अधिकारमाथि उठेका प्रश्न तथा सरकारका गतिविधिले सिर्जना गरेको असन्तुष्टिका बीच एमालेले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।

भेलाको मुख्य उद्देश्य पार्टीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकीकृत रूपमा कार्यान्वयन गर्ने तथा जनतासमक्ष प्रभावकारी ढंगले सम्प्रेषण गर्ने रहेको आचार्यले बताए।

त्यस्तै, आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्ने, पार्टी पंक्तिमा पार्टीका निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता कायम गर्ने तथा वैचारिक र सांगठनिक एकतालाई सुदृढ बनाउने भेलाको उद्देश्य रहेको उनले जानकारी दिए।

भेलामा पार्टीका केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन्। त्यस्तै, संघीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, जनसंगठनका प्रतिनिधि र विभिन्न उपसमितिमा रहेका नेताहरूको पनि सहभागिता रहनेछ।

एमालेले पहिलोपटक पालिका तहदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्‌देखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ।

भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। उद्घाटन समारोह काठमाडौंको माइतीघरस्थित कार्की ब्यांक्वेटमा हुनेछ।

भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशासहित दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामका विषयमा मार्गदर्शन गर्नेछन्। पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि समसामयिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै, उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरेका महत्त्वपूर्ण काम र उपलब्धिको समीक्षा तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नेछन्।

भेलामा सहभागी नेताहरूले स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य रूपमा लिखित रूपमा दिनुपर्ने व्यवस्था गरिएको छ।

भेलाको व्यवस्थापनका लागि आवश्यक हल, आन्तरिक सुरक्षा र अन्य प्रबन्ध मिलाइएको एमालेले जनाएको छ। सहायक रथी विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवकले कार्यक्रमस्थल र सहभागीको सुरक्षा व्यवस्थापन गर्नेछन्।

सहभागीको स्वास्थ्य परीक्षणका लागि हलको मूलगेट अगाडि हेल्थ डेस्क राखिने तथा सवारी पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको छ।

भेलाको समाचार संकलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीलाई उद्घाटन समारोहमा सभाहलसम्म पहुँच दिइने र त्यसपछि सञ्चालन हुने सत्रबारे केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत जानकारी गराउने एमालेले जनाएको छ।

भेलाका महत्त्वपूर्ण गतिविधि सञ्चारमाध्यमसम्म पुर्‍याउन प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपालको सञ्जालमार्फत सञ्चारकर्मीलाई जोड्ने व्यवस्था पनि मिलाइएको आचार्यले जानकारी दिए।