अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

दक्षिण कोरियालाई हराएसँगै ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने


काठमाडौं -दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाली रक्षापंक्ति तहसनहस पारेको थियो ।
खेलको सातौं मिनेटमै नेइमारको पासमा रियल मड्रिडका युवा स्ट्राइकर भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको केही समयपछि नै ब्राजिलले पेनाल्टी पायो । नेइमारले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए । नेइमारले राष्ट्रिय टिमका लागि ७६ औं गोल गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान् खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले पछाडि छन् ।
खेलमा यी तीनको तालमेल पनि बेजोड देखिएको थियो । ३६औं मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट पासमा लुकास पाक्वेटाले पेनाल्टी एरियाबाट गोल गरेपछि ब्राजिलले पहिलो हाफमै फराकिलो अग्रता बनायो ।

दोस्रो हाफमा कोरिया केही सम्हालियो । ब्राजिललाई थप गोल गर्न दिएन भने एक गोल पनि फर्कायो । कोरियाले ७६औं मिनेटमा सान्त्वना गोल फर्कायो । कोरियाका सब्स्टिच्युड खेलाडी पायक सुंग होले बक्स बाहिरबाट शानदार गोल गरेका हुन् ।

ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल आगामी आइतबार हुनेछ । सोमबारै भएको खेलमा अर्को एसियाली देश जापानलाई पेनाल्टी सुटआउटमा पराजित गरी क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।