अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वकप फूटबल : मोरक्को र स्पेन पहिलो हाफमा गोलरहित बराबरी

विश्वकप फूटबल : मोरक्को र स्पेन पहिलो हाफमा गोलरहित बराबरी


काठमाडौं- फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा स्पेन र मोरक्को पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएका छन्। पहिलो हाफमा बलियो मानिएको स्पेनमाथि मोरक्कोले दबाब बनाएको थियो। केही राम्रा अवसर सिर्जना गरे पनि उसले गोल भने गर्न सकेन। पहिलो हाफमा ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको स्पेनको तर्फबाट पनि कुनै गोल सकेन।

मोरक्को समूह एफको विजेता हो भने स्पेन समूह ईको उपविजेता हो।

समूहको अन्तिम खेलमा जापानसँग अनपेक्षित पराजय व्यहोर्दा स्पेनको मोरक्कोसँग भेट भएको हो। समूह विजेता बनेको जापान भने यसअघि क्रोएसियासँग पराजित भइसकेको छ।

गोल्डेन पुस्ता मानिएको बेल्जियममाथि जित हात पार्दै मोरक्कोले नकआउटको यात्रा तय गरेको हो। त्यसअघि क्रोएसियासँग पहिलो खेल बराबरी खेलेको थियो। अन्तिम खेलमा क्यानडालाई सहजै पराजित गर्दा मोरक्को समूह विजेता बन्यो।

उता स्पेन भने अन्तिम खेलमा जापानसँग पराजित भएको थियो। तर पहिलो खेलमा कोस्टारिकालाई ७–० ले पराजित गर्दा उसको नकआउटको यात्रा सम्भव भएको थियो। गोल अन्तरमा जर्मनीलाई पछि पार्दै स्पेन समूह उपविजेताका रुपमा अगाडि बढेको हो।
अफ्रिकी देशबाट सेनेगलसँगै मोरक्को अगाडी बढेको थियो। सेनेगल अन्तिम १६बाट बाहिरिँदा अफ्रिकाको अन्तिम आश अब मोरक्को बनेको छ।

पहिलो पटक १९८६ मा पहिलो पटक नकआउटमा पुगेर बाहिरिएको मोरक्कोको यो दोस्रो नकआउट हो। अफ्रिकी देशले अहिलेसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्। स्पेनले भने पहिलो पटक २०१० मा उपाधि जितेको थियो।

पहिलो खेलको नतिजाबाट हौसिएको स्पेन अन्तिम खेलको नतिजापछि दबाबमा छ। जापानविरुद्ध अग्रता जोगाउन नसक्दा स्पेन पराजित भएको थियो।

२०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ मा अन्तिम १६ सम्म पुगेको थियो। छैटौं पटक विश्वकपमा सहभागी भएको मोरक्को यसअघि एक पटक मात्रै नकआउटमा पुगेको थियो। अहिलेसम्म उसले क्वार्टर फाइनलमा स्थान बनाउन सकेको छैन।