अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२० औं किम्फ फेष्टिभल काठमाडौंमा सुरु

२० औं किम्फ फेष्टिभल काठमाडौंमा सुरु


काठमाडौं – २० औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) बिहिबारदेखि सुरु भएको छ ।

राष्ट्रिय सभागृह (सिटी हल) र नेपाल पर्यटन बोर्ड (एनटिबी) मा सुरु भएको फेष्टिभलको एक कार्यक्रमका बीच बलिउड अभिनेता तथा निर्देशक प्रकाश झाले शुभारम्भ गर्नुभयो । कार्यक्रममा झाले काठमाडौंलाई सांस्कृतिक शहर बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
कमलकुमार र विद्या चापागाईं निर्देशित फिल्म ‘बाघको बंगारा’ देखाउँदै किम्फ सुरु गरिएको हो । फिल्मले जाजरकोट जिल्ला कर्णाली प्रदेशको हनी हन्टरको साहसिक कथा व्यक्त गरेको छ । योसँगै सम्राट खनाल निर्देशित ३३ मिनेट लामो डकुमेन्ट्री ‘थ्रु द सिंगिङ भिलेज’को पनि प्रिमियर भएको थियो ।

फेस्टिभल उद्घाटन समारोहमा बोल्दै आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौंलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गर्नुभयो ।

‘काठमाडौंलाई फिल्म, साहित्य, संगीत, नाटक, सिम्फोनी र अर्केष्ट्राको विश्व हब बनाउन सकिन्छ र यसतर्फ म काठमाडौं महानगरलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष थापाले भन्नुभयो ।

हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरपालिकाको सह-अयोजनमा सुरु भएको फेष्टिभल अगामी २६ गतेसम्म चल्नेछ । फेस्टिभलमा यसपटक ३० मुलुकका ६० वटाभन्दा बढी फिल्म प्रदर्शन गरिनेछ ।

फेस्टिभलको वक्ताको रुपमा काठमाडौं आइपुगेका बलिउड निर्देशक झाले काठमाडौं आफूलाई मनपर्ने सहरमध्ये भएको र यसलाई सांस्कृतिक रुपमा जीवन्त सहर बनाउनुपर्ने बताउनु भयो ।

झाको अभिनय रहेको फिल्म ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शन पहिलो दिन भएको छ । झासहित फिल्म निर्देशक एम गनी पनि समारोहमा उपस्थित थिए । फिल्म स्क्रिनिङपछि झा र गनीले फिल्म हेरेका दर्शकसँग फिल्मको क्राफ्टबारे अन्तरक्रिया गर्नुभयो ।