अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान जारी गर्दाको कठिन अवस्था स्मरण गर्दै अध्यक्ष ओलीको सन्देश – संविधान पक्षधर शक्तिहरु एकजुट होऔं

संविधान जारी गर्दाको कठिन अवस्था स्मरण गर्दै अध्यक्ष ओलीको सन्देश – संविधान पक्षधर शक्तिहरु एकजुट होऔं


काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गरेका छन्।
१२औँ संविधान दिवसका अवसरमा आज जारी गरेको प्रेस वक्तव्यमा अध्यक्ष ओलीले संविधान जारी गर्ने क्रममा नेपाल राष्ट्र तथा नेपाली जनताले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘संविधान जारी भएपछि मुलुकले नाकाबन्दीजस्तो अत्यन्त ठूलो कठिनाइ सामना गर्नुपर्‍यो, जसले हामीलाई यस संविधानको रक्षा र संविधानमा एकताबद्ध हुन प्रेरित गर्दछ।’

अध्यक्ष ओलीले संविधान निर्माणका कठिन घडीलाई सामना गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै कानुन निर्माण र संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा लगेको दाबी गरेका छन्। वक्तव्यमा भनिएको छ, ‘अत्यन्त छोटो समयमा हाम्रो पार्टी नेतृत्वको सरकारले यस संविधानलाई सफलतापूर्वक कानुन निर्माण र संरचनात्मक विकासमार्फत कार्यान्वयनको चरणमा लगेको थियो।’ संविधानले परिकल्पना गरेका विकास निर्माणका कामलाई समेत बहुआयामिक रूपमा अघि बढाइएको उनले बताएका छन्।
उनले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित संविधानसभाबाट बनेको पहिलो ऐतिहासिक संविधान भएको बताएका छन्। ओलीले भनेका छन्, ‘जनताको प्रत्यक्ष सहभागिता र स्वामित्वमा यो संविधान निर्माण भएको हो।’ प्रमुख दलहरूबीचको समझदारीमा अनेकौँ प्रतिकूलता र चुनौती चिर्दै संविधान जारी गर्न सफल भएको उनको भनाइ छ।
ओलीले संविधानले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको तथा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणाली स्थापित गरेको बताएका छन्। वक्तव्यमा भनिएको छ, ‘यसै संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा संस्थागत गरेको छ, जहाँ सरकारका तीन तह–संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँड गरिएको छ।’ राज्यका सबै अंगमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई संविधानले आत्मसात गरेको पनि उनले उल्लेख गरेका छन् ।


त्यस्तै, नागरिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवासलगायत ३१ वटा मौलिक हकको व्यवस्था संविधानले गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘जनताका मौलिक अधिकारहरूको पूर्ण प्रत्याभूतिका लागि राज्य बलियो र समृद्ध हुनुपर्छ।’ संविधानले प्रत्याभूत गरेको मौलिक हकलाई व्यवहारमा लैजान सक्ने सामर्थ्य निर्माण गर्दै समाजवादको दिशामा अघि बढ्ने संकल्पसहित एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्य निर्धारण गरेको उनले बताएका छन्।
वक्तव्यमा गत वर्ष राज्यका प्रमुख धरोहरमाथि भएको विध्वंसकारी आक्रमणपछि संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि गम्भीर संकट पैदा भएको भनिएको छ। ‘संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि नै गम्भीर संकट पैदा गरिएको छ’ अध्यक्ष ओलीले वक्तव्यमा भनेका छन् ‘वर्तमान सरकार संविधान र कानुनी राज्यको मान्यताविपरीत स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाउँदै ओलीले भनेका छन्, ‘राज्यका संवैधानिक र संस्थागत संरचनाहरूलाई स्वेच्छाचारिताको बुटले कुल्चिइरहेको छ।’
राज्यका विभिन्न अंगमा ‘गैरराजनीतिक’ र ‘प्रोफेसनल’ व्यक्ति चयन गर्ने नाममा थप राजनीतिकरण गरिएको आरोप लगाउँदै उनले राजनीतिक नियुक्तिबारे ‘जान्नेलाई छान्ने होइन, मान्यलाई छान्ने नीति बनाएर स्वेच्छाचारी ढंगले अन्धाधुन्ध राजनीतिक नियुक्ति दिने काम भइरहेको’ बताएका छन्। अध्यक्ष ओलीले वर्तमान सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने गरी बाह्य शक्तिकेन्द्रको स्वार्थअनुरूप काम गरिरहेको अनुभूति भएको बताएका छन्। उनले भनेका छन्, ‘वर्तमान सरकारले नेपाल राज्यलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउनेगरी बाह्य शक्तिकेन्द्रको गोटी बनेर उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको अनुभूति भइरहेको छ।’
यस्तो परिस्थितिबाट मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिएका छन्। ओलीले आह्वान गरेका छन्, ‘मुलुकलाई यस्तो परिस्थितिबाट जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने भएको छ।’
संविधान दिवसका अवसरमा ओलीले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्। वक्तव्यमा अध्यक्ष ओलीले ‘संविधानले परिलक्षित गरेको लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न अघि बढौँ’ भन्दै संविधान दिवस २०८३ को शुभकामना दिएका छन्।