अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-भारत उच्चस्तरीय वार्तामा नेपाली झण्डा गायब, प्रदीप ज्ञवालीले भने– यो कुटनीतिक खेलवाड हो

नेपाल-भारत उच्चस्तरीय वार्तामा नेपाली झण्डा गायब, प्रदीप ज्ञवालीले भने– यो कुटनीतिक खेलवाड हो


काठमाडौं-नेकपा (एमाले)का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा भएको नेपाल-भारत उच्चस्तरीय बैठकमा नेपाली झण्डा नराखिएको विषयलाई गम्भीर कुटनीतिक खेलवाडको संज्ञा दिएका छन्। नेता ज्ञवालीले  यस घटनामा कसको कमजोरी भएको हो भन्ने विषयमा खोजबिन हुनुपर्ने बताएका छन्।

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सितारमणसँग गरेको वान-टु-वान तथा प्रतिनिधिमण्डलस्तरीय वार्ताका तस्बिर सार्वजनिक भएपछि उक्त विषय चर्चामा आएको हो।

 सार्वजनिक तस्बिरमा भारतीय अर्थमन्त्रीको अगाडि भारतीय झण्डा देखिए पनि अर्थमन्त्रीको अगाडि नेपाली झण्डा नराखिएको देखिएको छ। प्रतिनिधिमण्डलस्तरीय बैठकमा समेत दुवैतर्फ भारतीय झण्डा मात्र राखिएको तस्बिर अर्थमन्त्रीको सचिवालयले सार्वजनिक गरेको थियो।

यस विषयमा प्रतिक्रिया दिँदै नेता ज्ञवालीले द्विपक्षीय औपचारिक वार्तामा दुवै देशको समान प्रतिनिधित्व र हैसियत झल्किने व्यवस्था हुनुपर्ने बताए। उनले यस्तो बैठकमा एउटा देशको मात्रै झण्डा राखिनु कुटनीतिक प्रोटोकलअनुसार उपयुक्त नहुने धारणा राखे।

नेता ज्ञवालीका अनुसार यस्ता औपचारिक बैठकका लागि आयोजक राष्ट्र र भ्रमणमा रहेको पक्षबीच आवश्यक समन्वय हुनुपर्छ। आयोजक पक्षसँग झण्डाको व्यवस्था नभए सम्बन्धित नेपाली दूतावासले आवश्यक समन्वय गरी उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

‘यो कुनै अनौपचारिक भेटघाट थिएन, दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भएको औपचारिक वार्ता थियो। यस्तोमा एउटा देशको मात्रै झण्डा हुनु शोभनीय हुँदैन,’ नेता ज्ञवालीले भने। उनले राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने र भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने बताए।