काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ।
सीआईबीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई नियन्त्रणमा लिएको हो। एन्फामा भएको भनिएको आर्थिक अनियमितताबारे अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जनाएको छ।
शुक्रबार दिउँसो सीआईबीको टोली एन्फाको सातदोबाटोस्थित कार्यालयमा पुगेको थियो। टोलीले कार्यालयबाट विभिन्न कागजात, कम्प्युटर तथा मोबाइलसमेत बरामद गरेको जनाइएको छ।
नियन्त्रणमा लिइएका जोशी र पाण्डेलाई सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा लगिएको छ। त्यहाँ उनीहरूसँग आर्थिक कारोबार तथा एन्फामा भएको भनिएको अनियमितताका विषयमा सोधपुछ भइरहेको छ।
सोधपुछका क्रममा थप अनुसन्धान आवश्यक देखिए उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउने तयारी सीआईबीको रहेको बताइएको छ।
हालसम्म सीआईबीले अनुसन्धानको विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।



प्रतिक्रिया