काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निष्पक्ष हुनुपर्छ भन्ने नाउँमा दलभन्दा बाहिरबाट कोही व्यक्तिलाई ल्याएर राष्ट्रपति बनाउने कुरा उपयुक्त नहुने बताउनु भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दलहरूले नै संविधानले कल्पना गरेको जस्तो निष्पक्ष भएर काम गर्न सक्ने व्यक्तिलाई अघि सार्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधानअनुसार जनताको छोराछोरी कोही पनि राष्ट्रपति बन्न सक्छ । कुनै कुल चाहिँदैन, ठूलो घराना चाहिँदैन। यसमा मेरो व्यक्तिगत आग्रह छैन, पार्टीले जे निर्णय गर्छ, त्यही मान्ने हो ।’
उहाँले दलहरूले नै राष्ट्रपतिको उपयुक्त उम्मेदवार अघि सार्न सक्नुपर्ने बताउनुभयो । ‘संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा अव्यावहारिक छ, यो दलहरूले आफैंमाथि गरेको अविश्वास हो,’ उहाँले भन्नुभयो, ‘दलहरूले एउटा यस्तो व्यक्ति, सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ, जसले संविधानले कल्पना गरेको जस्तो गरेर काम गर्न सक्नुपर्छ । दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा मलाई चाहीँ ठीक लाग्दैन।’



प्रतिक्रिया