अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्री किराँतीको निर्देशन

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन पर्यटनमन्त्री किराँतीको निर्देशन


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०लाई निर्देशन दिनुभएको छ।

बबरमहलस्थित क्यानको केन्द्रीय कार्यालय पुगेर क्यानका उच्च अधिकारीसँग छलफल गर्दै मन्त्री किराँतीले हवाई सुरक्षाको क्षेत्रमा प्रगति हुनेगरी काम गर्न आग्रह गर्नुभयो।

हवाई सुरक्षामा सुधार गर्दै परिणाममुखी काम गर्न पर्यटनमन्त्रीले निर्देशन दिनुभएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो। “हवाई पूर्वाधार विकासमा फड्को मार्नेगरी काम गर्नुस, देशलाई समृद्धिको दिशामा अघि बढाउन निर्माण र सुरक्षाको क्षेत्रमा फड्को मार्नुपर्छ । हवाई सुरक्षा अभिवृद्धिका साथै पूर्वाधार विकासको कामलाई समयमै सम्पन्न गर्नेतर्फ बसैको ध्यान जान जरुरी छ”, मन्त्री किराँतीको भनाइ उद्धृत गर्दै प्रवक्ता निरौलाले भन्नुभयो। 

पर्यटनमन्त्री किराँतीले क्यानको सेवा प्रणालीबारे ब्रिफिङ लिनुभएको थियो। क्यान स्थापनादेखि पछिल्ला गतिविधिबारे मन्त्रीलाई क्यानको टोलीले ब्रिफिङ गरेको प्रवक्ता निरौलाले बताउनुभयो।

पर्यटनमन्त्री किराँतीले विदेशी नागरिकलाई नेपालको पहिलो झल्को दिने ऐनाको रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको सेवासुविधा र पूर्वाधारयुक्त बनाउन पनि निर्देशन दिनुभयो।