अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुस्मिता केसी हत्या प्रकरण: सासु-ससुरा, दुई नन्द र ज्वाईंलाई जन्मकैद

सुस्मिता केसी हत्या प्रकरण: सासु-ससुरा, दुई नन्द र ज्वाईंलाई जन्मकैद


मकवानपुर – जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४ की २४ वर्षीया सुस्मिता केसीको हत्या परिवारबाटै भएको ठहर गर्दै सासु–ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेल नेतृत्वमा आज बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासुलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो।

सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बीभत्स ढंगले हत्या गरिएको थियो। भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट काठले हिर्काएको प्रहरी अनुसन्धानमा खुलेको थियो । सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा हानेकी थिइन् । भान्सामा बीभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । परिवारले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेको थियो ।

कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिताको पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनीहरुको विवाह २०७६ वैशाख १८ गते भएको थियो । पतिको दुर्घटनामा मृत्यु भएपछि उक्त बिमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

अदालतको फैसलाप्रति खुसी हुँदै सुस्मिताकी आमा गंगाले अदालतको फैसलाबाट अपराधीहरुको मनोबल गिर्ने आस व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो फैसलाले मेरो छोरीले न्याय पाइन् ।’