काठमाडौं – नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको उपसभामुखको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उपसभामुखमा निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो । विपक्षी दलका सांसदले समेत उठाएका इस्यूहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफूले इमान्दार प्रयास गर्ने उहाँले बताउनुभयो ।
उपसभामुख रानामगरले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर संसदको काम अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताउनुभयो। नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उहाँको भनाइ थियो।
उपसभामुख रानामगरले भन्नुभयो, ‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमान्दारिताका साथ निभाउनेछु। गठबन्धनदेखि लिएर विपक्षी पार्टीका सम्पूर्ण माननीयज्यूहरूले उठाएका इस्यूलाई एकदम इमान्दारिताका साथ तटस्थ भएर सम्माननीय समामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी‚ मर्यादित र सुसंस्कृत गर्ने काम हुन्छ। उपसभामुखले धेरै काम गर्नुपर्ने जस्तो लागेको छ। आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर म काम गर्नेछु। तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछु।’




प्रतिक्रिया