अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 मेसी बने फिफा उत्कृष्ट वर्ष खेलाडी

 मेसी बने फिफा उत्कृष्ट वर्ष खेलाडी


काठमाडौँ-३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसीले फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड जितेका छन्।

गएराति एक कार्यक्रमबीच उत्कृष्ट तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षिय अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड मेसीले अवार्ड हात पारेका हुन्।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा यसअघि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको थियो।

अवार्ड विजेता मेसीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए। 

यस्तै सन् २०२१-२२ मा क्लब र देशका लागि ४९ खेलबाट २७ गोल गरेका थिए।

फिफाका सदस्य राष्ट्र, प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता छनोट गरिएको फिफाले जनाएको छ।अवार्ड पाएपछि मेसीले आफ्ना लागि यो एक ठूलो वर्ष भएको प्रतिक्रिया दिएका छन्।

‘मेरा लागि यो एक ठूलो वर्ष हो। यहाँ आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो। यसको श्रेय म मेरा साथीहरूलाई दिन चाहन्छु, उनीहरू बिना म यहाँ हुने थिइनँ’, दोस्रो पटक अवार्ड जितेका मेसीले भने।

उनले आफूले लामो समयदेखिको सपना पुरा भएको बताए। ‘मैले लामो समयदेखि देखेको सपना पूरा गरेँ। धेरै कम मानिसहरूले मात्र त्यो पूरा गर्न सक्छन् र म त्यस मामिलामा भाग्यमानी रहेँ’, उनले भने।

सन् २०१६ बाट सुरु भएको अवार्डमा मेसीसहित क्रिष्टियानो रोनाल्डो र रोर्बेटो लेवान्डोस्कीले २-२ पटक उपाधि जितेका छन्। यस्तै लुका मोड्रिचले १ पटक उपाधि जितेका छन्। 

सन् २०२१ अगस्ट ७ देखि २०२२ जुलाई २७ सम्मका खेलमा गरेको प्रदर्शनलाई आधार मानिएको थियो।

पेरिसमा भएको समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको उत्कृष्ट पुरूष प्रशिक्षक घोषित भए।

स्कालोनीले म्यानचेस्टर सिटीलाई छैटौं प्रिमियर लिग उपाधि जिताउने पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारेका हुन्।

बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । गत वर्ष घरेलु मैदानमा लियोनेसलाई युरोपियन च्याम्पियनसिपको महिमामा पुर्‍याएपछि इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् ।

एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले अवार्ड जितिन्। ३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको शुटआउट जितसहित चार पेनाल्टी बचाएर आफ्नो देशलाई विश्वकप जिताउन मद्दत गरेकी थिइन्।

पोल्याण्डका वार्टा पोजनानका एम्पुटी फुटबलर मार्सिन ओलेक्सीले वर्षको उत्कृष्ट गोलको लागि फिफा पुस्कास अवार्ड जितेका छन्। उनले बैसाखीको सहारामा जालको पछाडि उड्दै स्टाल रजेजो विरुद्ध उत्कृष्ट ओभरहेड भली गाेल गरेका थिए।

फेयर प्ले अवार्ड लुका लोचोसभिलीले पाए। 

विजेताहरूको पूर्ण सूची

उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेसी

उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास

उत्कृष्ट पुरुष गोलकिपरः एमिलियानो मार्टिनेज

उत्कृष्ट महिला गोलकिपरः मेरी अरप्स

सर्वश्रेष्ठ पुस्कास अवार्डः मार्सिन ओलेक्सी

उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान

उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली

उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी

उत्कृष्ट महिला प्रशिक्षक: सरिना विग्म्यान

एजेन्सी 

Skip This