मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ ।
विराटनगरको सहिद रङ्गशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस क्षेत्रमा खेलकुदको विकासका लागि प्रदेश सरकारले आगामी वर्षदेखि रङ्गशाला निर्माण सुरु गर्ने जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले खेलाडीले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्न सफल भएको सम्मानस्वरुप विराटनगर नजिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान निर्माण गर्ने उल्लेख गर्नुभयो। उहाँले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्घोष व्यक्त गर्नुभयो ।
राज्यको कम लगानीका बाबजुद फुटबल र क्रिकेट खेलमार्फत प्राप्त सफलताले दक्षिण एसियाका साथै विश्वमा नै नेपाल र नेपालीलाई चिनाएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले खेलाडी राष्ट्रका सम्पदा भएकाले उनीहरूको संरक्षण गर्नुपर्नमा जोड दिनुभयो । “खेलाडीका कारण हाम्रो शिर ठाडो भएको छ । उनीहरुको संरक्षण गर्नु सबैको दायित्व हो”, उहाँले भन्नुभयो ।
रात्रिकालीन समयमा सञ्चालन हुने उक्त गोल्डकपमा नेपालका ए डिभिजनका छ क्लब, भारतको एक र भुटानको एक क्लबले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका तर्फबाट विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै सङ्कटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने भारतको लुका सकर क्लब केरला र भुटानको ड्रुक लयुल फुटबल क्लब छन् ।
प्रतियोगिताको उपाधि विजेताले रू.२० लाख १५ हजार तथा उपविजेताले रू.१० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । बिहीबार भएको फुटबल प्रतियोगिता विराटनगर सिटी क्लबले महेन्द्र पुलिस क्लबलाई १-० ले पराजित गरेको छ । आजको खेल नेपाल आर्मी क्लब र जावलाखेल युथ क्लब ललितपुरबीच हुने आयोजकले जनाएको छ ।




प्रतिक्रिया