अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छठ मनाउन पत्नी निकितासहित आज जनकपुर जाँदै रवि लामिछाने

छठ मनाउन पत्नी निकितासहित आज जनकपुर जाँदै रवि लामिछाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित छठ पर्व मनाउन शनिबार जनकपुरधाम जाने भएका छन्। उनीहरूले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुने कार्यक्रम रहेको छ।

रास्वपाले लामिछाने दम्पतीको जनकपुर भ्रमणका लागि तीनदिने कार्यक्रम सार्वजनिक गरेको छ। भ्रमणका क्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट, शुभकामना आदानप्रदान, अन्तरक्रिया तथा विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

शनिबार (कात्तिक २८ गते) दिउँसो १२:१५ बजे लामिछानेको स्वागतका लागि जनकपुर विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ता उपस्थित हुनेछन्। दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापतिबाट सम्बोधन हुनेछ। त्यसपछि दिउँसो २ देखि ४ बजेसम्म सोही स्थानमा पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ। साँझ ५ बजे छठ पर्वको खरना तथा अन्य धार्मिक विधिको तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

आइतबार (कात्तिक २९ गते) बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म लामिछाने दम्पतीले जनकपुरधाम तथा आसपासका ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वका स्थलहरूको दर्शन तथा अवलोकन गर्नेछन्। यस क्रममा जानकी मन्दिर, मुखियापट्टीस्थित लक्ष्मीनारायण मन्दिर, मठियानीस्थित लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिर, रामजानकी मन्दिर (मरवा) र धनुषाधाम मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।

सोही दिन दिउँसो ३ बजे जनकपुरधामस्थित पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा लामिछाने दम्पती सहभागी हुनेछन्।

सोमबार (कात्तिक ३० गते) बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको धार्मिक विधि पूरा गर्ने कार्यक्रम रहेको छ। त्यसपछि लामिछाने दम्पती जनकपुर विमानस्थलबाट काठमाडौं फर्कने रास्वपाले जनाएको छ।

सभापति लामिछानेको भ्रमणका क्रममा पार्टीले मधेस प्रदेशअन्तर्गतका सम्पूर्ण तहका पदाधिकारी, सांसद, पार्टी सदस्य तथा शुभेच्छुकलाई स्वागत, समन्वय र सहकार्यका लागि उपस्थित हुन निर्देशन दिएको छ।