अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो: अध्यक्ष ओली

गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो: अध्यक्ष ओली


भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ। 

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर फाइनलका लागि आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उहाँले भन्नुभयो, ‘गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो।’

उहाँले भन्नुभयो, ‘हामीले सुनेका, देखेका छौँ ताण्डव नृत्य, शिव नृत्य आदि। ती नृत्यको इतिहास कति पुरानो छ रु यो सत्ययुगकै कुरा होइन ? त्यसैले हामी गीत, सङ्गीत, कला, संस्कृति एवं सम्पदामा संसारका अरु कुनै देशभन्दा अगाडि छौँ, हाम्रो इतिहास सबैभन्दा पुरानो छ।’

एमाले अध्यक्ष ओलीले गीत सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राख्नुभयो । उहाँले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गर्नुभयो ।

इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो। गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले ? ३० लाख र तृतीय हुनेले रु.२० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उहाँसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए । उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए । पहिलोपटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए । 

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न सो प्रतियोगिताको आयोजना गरेको जनाइएको छ।

त्यस अवसरमा सो फाउण्डेसनका बोर्ड सदस्यद्वय ओमराज गुरुङ र चूडामणि भट्टराईले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो।