अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीश नियुक्त गर्न सरकारलाई नेपाल बारको १० दिने अल्टिमेटम

प्रधानन्यायाधीश नियुक्त गर्न सरकारलाई नेपाल बारको १० दिने अल्टिमेटम


काठमाडौं – नेपाल बार एशोसिएशनले सरकारलाई प्रधानन्यायाधीश नयुक्ति गर्न १० दिनको अल्टिमेटम दिएको छ।

नेपाल बारले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर १० दिनभित्र सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन सुरु गर्ने चेतावनी सरकारलाई दिएको हो। 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायमबाट सर्वोच्च अदालत चलेको एक वर्ष बितिसकेको भन्दै १० दिनभित्रमा प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन शुरु गर्ने चेतावनी दिनुभयो । उहाँले सर्वोच्च अदालतमा पनि अटोमेशन प्रणाली लागू गरेर पेशीको व्यवस्थापन नगरे आन्दोलन गर्ने बताउनु भयो।

घिमिरेले कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च लगायत न्यायालयलाई हेपेको आरोप पनि लगाउनु भयो ।

उहाँले न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार मुक्त बनाउने अभियानको फेहरिस्त दिनसमेत माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी आन्दोलनको श्रेणीमा पुगेका छौँ। ७ देखि १० दिन हेर्छौं। यदि समस्या समाधान नभए आन्दोलन हुन्छ। सर्वोच्च अदालतले पनि फुल्ली अटोमेटेड लागू गरेर पेशी व्यवस्थापन गर्नेतर्फ ध्यान नदिए बारले उचित निर्णय लिन्छ । हाम्रो आजको मूल मुद्दा भनेको प्रधानन्यायाधीश नियुक्ति हो। प्रधानन्यायाधीश स्थायी हुन नसके कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च लगायत न्यायालयलाई हेपेको बुझ्छौँ। प्रधानन्यायाधीश तत्काल नियुक्त गर्नुपर्छ भन्ने हाम्रो माग हो।’