इलाम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेश नामाकरणको विरोधमा लाग्नु पर्ने कुनै कारण नरहेको बताउनुभएको छ।
नेकपा एमाले इलामको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकलाई आज सम्बोधन गर्दै ओलीले कोसी सभ्यता भएकोले कोसी सबैको साझा भएको प्रष्ट पार्नुभयो । ‘कोसी प्रदेशको नाम बिलकुल ठिक छ, त्यो साझा नाम छ’, उहाँले भन्नुभयो ।
नामको राजनीतिमा कोसी प्रदेशमा एमाले निध्याउँछु भनेर एउटा पार्टी बुर्जुवाको पछिपछि लागेर हिँडेको उहाँले बताउनुभयो । एउटा प्रक्रियाबाट टुंगिएको कुरोलाई विरोध गर्न जरुरी नरहेको उहाँले प्रष्ट पार्नुभयो । यदि असन्तुष्टि छ भने प्रदेश सभाबाट दुईतिहाई पुर्याएर नाम परिवर्तन गर्न उहाँले चुनौती दिनुभयो ।
काठमाडौंदेखि पूर्वको पानी कोसीमा पुग्ने भएकोले कोसीले क्षेत्र समेटेको उहाँले बताउनुभयो। हिमालदेखि पहाड र तराईसम्मको क्षेत्र कोसी बाहेक अन्य कुनै नामले नसमेट्ने ओलीले बताउनुभएको छ । कोसी नाम भित्र डाँफे, मुनाल, मयुरदेखि, हात्ती, गैँडासम्मका पशुपन्छी र सबै जात समुदायका मानिसहरू समेटिएका उहाँले प्रष्ट पार्नुभयो।
आक्रमण, हिंसात्मक आतंकारी, राष्ट्रियता विरुद्धको क्रियाकलाप गरेर प्रदेशको नाम परिवर्तन गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो। एमाले कुनै असहिष्णु क्रियाकलापमा सहभागी नहुने र कसैले आक्रमण गर्यो भने सहेर पनि नबस्ने ओलीले चेतावनी दिनुभयो ।
नेपाली समाज हजारौँ वर्ष लगाएर बनेको बताउँदै ओलीले त्यसलाई बिगार्याैँ भने बनाउन फेरी हजारौँ वर्ष लाग्ने बताउनुभयो । प्रदेश सभामा कोसी प्रदेशको पक्षमा मतदान गरेको माओवादीले सस्तो लोकप्रियताको लागि फेरि सो निर्णय फिर्ता लिएको भन्दै उहाँले आलोचना गर्नुभयो । यस्तो राजनीतिबाट कसैको भोट नबढ्ने उहाँले प्रष्ट पार्नुभयो । ‘सस्तो राजनीति गर्न खोलेको हो प्रचण्डले’, उहाँले भन्नुभयो ।
देशलाई अघि बढ्न नदिनेले हिंसाको बाटो रोजेको उहाँले बताउनुभयो । उनीहरूले त्यस्तो राजनीति नछाडे नेपाली जनताले ठेगान लगाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई कतै जान नदिने, यिनको अंश हो यो ?’




प्रतिक्रिया