अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले देशमा कसरी आतंक सिर्जना गर्न सकिन्छ भन्दै रिहर्सल सुरु गर्‍यो: एमाले

सरकारले देशमा कसरी आतंक सिर्जना गर्न सकिन्छ भन्दै रिहर्सल सुरु गर्‍यो: एमाले

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीको बाटो हेरेर बस्दैनौं


काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको अपराधिक क्रियाकलापलाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराएको छ। कोशी प्रदेशको यात्रामा रहेका अध्यक्ष ओलीमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताउँदै एमालेले देशमा शान्ति सुरक्षा कायम गर्न आग्रह गरेको छ।

एमाले उपमहासचिव विष्णु रिमालले अध्यक्ष ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने बताउनुभयाे। उहाँले सत्तारुढ दलले नै आतंक सिर्जना गर्न खोजेको भन्दै यसबारे जवाफ दिन माग गर्नुभयाे।

‘झापामा भएको घटनामा सत्ताधारी दलकै संलग्ता देखियो। घटना त्यहीँमात्र सीमित भएन। इलाममा पनि अवरोध हुने काम भयो। बाटोमा ढुंगा राखेर रोक्ने काम भयो। 
धराप थापेर आतंक थाप्ने काम भयो,’ काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रिमालले भन्नुभयाे, ‘तेह्रथुममा पनि कालो झन्डा देखाउने काम भयो। कालो झन्डा देखाउने कुरामा हाम्रो केही भन्नु छैन। तर एउटा पार्टीको अध्यक्षलाई एमालेको बाहुल क्षेत्रमै यसखालको अवरोध सिर्जना गर्नु धेरै निन्दनीय कार्य हो।’

उहाँले प्रचण्ड नेतृत्वको सरकारले देशमा कसरी आतंक सिर्जना गर्न सकिन्छ भन्दै रिहर्सल सुरु गरेको दाबी गर्नुभयाे ।  ‘कसरी आतंक सिर्जना गर्न सकिन्छ। कसरी खेल्न सकिन्छ भनेर रिहर्सल गरेको हो कि भन्ने हामीले ठानेका छौं। विशेषतः हाम्रा अध्यक्ष केपी शर्मा ओलीले तीन वटा विषयमा आवाज उठाइरहनुभएको छ। राजनीतिक अस्थिरता, अर्थतन्त्रमा आएको चरम संकट र शान्ति सुरक्षाका सबाल। जसकारण उहाँमाथि टार्गेन गर्न खोजिएको छ,’ रिमालले दाबी गर्नुभयाे।

‘राजनीतिक अस्थिरता भनेका छौं तर सत्ताधारीले नै यसको काम गरिरहेका छन्। अर्थतन्त्र ओरालो लागाउने हर्कत भइरहेका छन्। सरकार उल्टो बाटोमा हिँडिरहेको छ। ८०-९० अर्बको भुक्ता सरकारले गर्न सकेको छैन। शिक्षकले पेन्सन पाएका छैनन्। निजामती कर्मचारीले पेन्सन पाउन सकेका छैनन्। जेष्यठ नागरिकहरूले ५ अर्ब बढी सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। संक्रमणकालीन न्यायसम्बन्धी कुरामा लडाकुलाई विभिन्न चरणमा सेवा सुविधा दिइसकिएको छ। तर अहिले फेरि १ अर्ब ४० करोड बाँड्ने कुरा हामीले सुनेका छौं। यसले डरलाग्दो चित्र देखाइरहेको छ,’ उहाँले भन्नुभयाे।

उहाँले कोशी प्रदेश एमाले एक्लैले राखेको नाम नभएको स्पष्ट पार्नुभयाे। त्यसमा बहुमत सदस्यको समर्थन हस्ताक्षर भएको उहाँको भनाइ थियो। ‘कोशी प्रदेश र दलसँग सम्बन्धित कुरा होइन। यो त प्रक्रियामा भएको हो। कुनै दलले पनि गरेको होइन। प्रदेशका मेजोरिटी सदस्यले गरेको हो। अनि एमालेमाथि दोषारोपन किन? माओवादीले पनि समर्थन र हस्ताक्षर गरेका होइनन्?,’ उहाँले प्रश्न गर्नुभयाे। उहाँले एमालेले आफ्नो नेता कार्यकर्ताको लागि आफैं सुरक्षाका लागि उत्रिन नपरोस् भन्दै चेतावनी दिनुभयाे।  

त्यस्तै एमालेका सचिव योगेश भट्टराईले एमाले तीन करोड जनताको सुरक्षा गर्न तयार रहेको बताउनुभयाे। एमालेमाथि यस्तै खाले गतिविधि भइरहे प्रचण्ड र गृहमन्त्रीको बाटो हेरेर नबस्ने स्पष्ट पार्नुभयाे। ‘एमालेमाथि यस्तै प्रहार भइरहे। देशमा अशान्ति मच्चिए प्रचण्ड र गृहमन्त्रीको बाटो हेरेर बस्दैनौं। हामी तीन करोड जनताको सुरक्षा गर्न पनि तयार छौं। हामी आफ्ना नेता कार्यकर्ताको पनि सुरक्षा गर्छौं,’ उहाँले भन्नुभयाे।
 
उहाँले कोशी प्रदेशमा एमालेलाई नजिस्काउन पनि आग्रह गर्नुभयाे। उहाँले कुनै बेला एमालेलाई मधेस प्रदेशबाट पनि लखेट्न खोजेको भन्दै एमाले भाग्ने पार्टी नभएको बताउनुभयाे। ‘मधेस प्रदेशमा हामीलाई लखेट्न खोजियो। तर मधेसबाट एमाले भागेन। एमाले भाग्ने पार्टी होइन। एमालेले प्रतिवाद गर्न परे गर्छौं। प्रचण्ड पथलाई भन्न चाहन्छु- कोशी प्रदेशमा यस्तो हुँदैन,’ उहाँले भन्नुभयाे।

Skip This