अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असहमति जनाउन पाइन्छ, आतङ्क सिर्जना गर्न पाइँदैन: विष्णु रिमाल

असहमति जनाउन पाइन्छ, आतङ्क सिर्जना गर्न पाइँदैन: विष्णु रिमाल


काठमाडौं – नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले असहमति जनाउन पाइने तर आतंक सिर्जना हुने खालको गतिविधि हुन नहुने बताउनुभएको छ।

पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेश अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी हुनेक्रममा सांघातिक आक्रमण भएको भन्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘झापाको घटनापछि इलाममा जानेक्रममा पनि बाटोमा अवरोध भयो । हिजो १४ गते पशुपतिनगरबाट फर्कनेक्रममा ढुंगा राखेर बाटो छेक्ने दुष्प्रयत्न भयो’ रिमालले भन्नुभयो, ‘प्रशासनलाई यथोचित काम गर्न आग्रह गर्‍यौं, नियन्त्रणभन्दा उछ्ङ्खल गतिविधि एकपछि अर्को गर्दै ढुंगा थोपार्ने, तार देखाउने आतंक मच्चाउने काम भएको छ, यसको हामी कडा शब्दमा विरोध गर्दछौं ।’ शुक्रबार तेह्रथुमको कार्यक्रममा पनि सोहीखाले अवरोध सिर्जना भएकोप्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। 

कुनै विपक्षी पार्टीको नेतालाई सामान्य रुपमा मन नपरेर नभई आतंक सिर्जना गरेर कसरी अस्थिरतामा खेल्न सकिन्छ भन्ने किसिमबाट रिहर्सल भएको उहाँको भनाइ छ । ‘समाज अराजकतामा जाने, यसको पुनरावृत्ति हुनेखालको खतरा बढ्ने चिन्ताले पनि सार्वजनिक सञ्चार माध्यममार्फत जानकारी गराउन चाहन्छौं, नियन्त्रण नभए यस्ता घट्नाको डटेर प्रतिवाद गर्ने चेतावनी दिन चाहन्छौं’ रिमालले भन्नुभयो ।