काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीनिकट किसान महासंघलाई जनताका बीचमा व्यापक रुपमा विस्तार गर्न निर्देशन दिनुभएको छ।
अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आज केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । कृषि क्षेत्र पेशा, व्यवसायसँगै संगठनको नेतृत्व अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ।
उहाँले भन्नुभयो, ‘किसान संगठनलाई महिलाका बीचमा व्यापक रुपमा लग्नुस्, संगठनलाई दिगो बनाउनुस् । पुरुषसँग महिला दिदीबहिनीलाई सक्षम बनाउनेगरी कामकाज गर्नुहोस्।’
व्यवसाय, विचार र संगठनको अगुवाइ गर्नेगरी किसान महासंघलाई स्थापित गर्न आवश्यक रहेको भन्नुहुँदै अध्यक्ष ओलीले जनताका बीचमा महासंघको सदस्यता वृद्धि गर्न पनि आग्रह गर्नुभयो । स्थापना दिवसको अवसरमा उहाँले पुष्पलाल श्रेष्ठले विभिन्न धारमा विभक्त विचारलाई तेस्रो महाधिवेशनपछि एकता र सहिष्णुताको बाटोमा ल्याउन प्रयास गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।
‘२०४७ कात्तिक २५ गते खुलामञ्चमा संविधानका बारेमा २७ बुँदे असहमतिसहित राखेको कुरामा मदन भण्डारीको नै सबैभन्दा बढी महत्वपूर्ण भूमिका थियो। मदन भण्डारीले गर्नुभएको पहिलो सार्वज्निक सम्बोधन पनि त्यही हो, सम्बोधन सुनिसकेपछि पार्टीको महासचिव भण्डारी बाहेक अरु कोही हुन सक्दैन भनेर अरुले अडकल गरेका थिए’ उहाँले भन्नुभयो ।




प्रतिक्रिया