अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री सुधन गुरुङ यूएई प्रस्थान

गृहमन्त्री सुधन गुरुङ यूएई प्रस्थान


काठमाडौं-गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।

यूएई सरकारको औपचारिक निमन्त्रणामा गृहमन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार गृहमन्त्री गुरुङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका हुन् ।

यूएईमा आयोजना हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल हुनेछ । सम्मेलनमा उच्चस्तरीय नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, कार्यशाला, तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कारलगायतका कार्यक्रमसमेत आयोजना हुनेछन्।

सम्मेलनमा कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, ड्रोन तथा रोबोट प्रविधिको प्रयोग, अपराध अनुसन्धान र आधुनिक फरेन्सिक प्रविधिका विषयमा छलफल हुनेछ।

त्यस्तै, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रण, लागूऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा, स्मार्ट सुरक्षा प्रणाली, भू–उपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षा लगायतका १४ विषयगत क्षेत्र सम्मेलनमा समेटिएका छन्।

गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किने गृह मन्त्रालयका प्रवक्ता काफ्लेले जानकारी दिएका छन्।