काठमाडौं – राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सरकारको नीति तथा कार्यक्रम डमीलाई राम्रो कपडा लगाइ दिएर सुन्दर बनाइ दिएजस्तै भएको बताउनु भएको छ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभाको आजको बैठकमा उहाँले यस्तो बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘कपडा पसलमा सजाउन राखेका डमीलाई राम्रो कपडा लगाइदिएर सुन्दर देखाइएको वस्तुलाई डमी भनिन्छ। त्यही डमी जस्तै राम्रो छ। जसको जीवन छैन। जसको प्राण छैन। त्यसैले यो नीति तथा कार्यक्रम डमी जस्तै छ। प्रतिपक्षका माननीयहरुले त्यो डमीलाई किन मान्छे नभनेका। डमीलाई किन डमी भनेको हो। मान्छे भन्नुपर्थ्यो नि । त्यसमा जीवन छ भन्नुपर्थ्यो नि।’
सरकारले ल्याएको नीति कार्यक्रम प्लाष्टिकको फूल जस्तै भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘प्लाष्टिकका फूल देखाएर फुलवारीमा फुलेका सुन्दर फूलहरु भनेर भन्न खोजिएको छ। हामी भन्छौ त्यो फूल सुन्दर फूलवारीमा फुलेको फूल होइन प्लाष्टिककै फूल हो।’
स्वास्थ्य र शिक्षालाई सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्राथमिकता नदिएको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘स्वास्थ्य र शिक्षा सबैभन्दा बढी प्राथमिकता दिने विषय हो। तर प्राथमिकता दिएको छैन। कृषिलाई पनि प्राथमिकता दिएको छैन। यो नीति तथा कार्यक्रम कसरी राम्रो भयो ?’




प्रतिक्रिया