काठमाडौं-सर्वोच्च अदालतमा चारजना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले चारैजनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार नियुक्त हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।
यसअघि असोज २० गते बसेको न्याय परिषद्को बैठकले उनीहरू चारैजनाको नाम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
त्यसपछि संसदीय सुनुवाइ समितिले कात्तिक २१ गते चारैजनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।



प्रतिक्रिया