अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमबाप्पे चौथोपटक उत्कृष्ट खेलाडी घोषित

एमबाप्पे चौथोपटक उत्कृष्ट खेलाडी घोषित


काठमाडौँ-पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर काइलियन एमबाप्पे लगातार चौथोपटक फ्रेन्च लिग वानमा प्लेयर अफ द सिजन घोषित भएका छन् । एमबाप्पेकै उत्कृष्ट प्रदर्शनमा पीएसजीले योपटक कीर्तिमानी ११औँपल्ट लिग उपाधि जितेको थियो ।

फ्रान्सका एमबाप्पे ज्लाटन इब्राहिमोभिकको कीर्तिमान तोड्दै चारपटक अवार्ड जित्ने खेलाडी बनेका छन् । लगातार चारपटक सिजनको उत्कृष्ट खेलाडी घोषित हुने एमबाप्पे फ्रान्सका एक्लो फरवार्ड हुन् ।

“टिमका सहयात्री, क्लबका कर्मचारी, पर्दा पछाडि बसेर काम गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’’ २४ वर्षीय एमबाप्पेले भने, “म सधैँ आफ्नो प्रभाव छोड्न चाहन्छु । मैले यति चाँडो यस्तो सफलता हासिल गर्ने आस गरेको थिइनँ । तर, म आफ्नो देशमा इतिहास रच्न पाउँदा खुसी छु ।’’

एमबाप्पेको भविष्यलाई लिएर यति बेला चर्चा सुरु भएको छ । यति बेला एमबाप्पेले पीएसजीसँग सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गर्छन् वा क्लब छाड्छन् भनेर चर्चा भइरहेको छ ।

“म खुसी छु र म अर्को सिजन यहाँ आउनेछु,’’ एमबाप्पेले भने । उनले २०२४ सम्म क्लबमा रहने÷नरहने बारे कुनै संकेत दिएनन् ।

पीएसजीले शनिबार स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै एक खेल बाँकी हुँदै उपाधि जितेको हो ।

लेन्सलाई दोस्रो स्थानमा पुर्‍याएपछि फ्रान्क हाइसेलाई सिजनको उत्कृष्ट प्रशिक्षक घोषित गरियो । लेन्सले २१ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिग खेल्नेछ ।

“यो तीन सिजनको कथा हो…। जो यो साहसिक कार्यमा छैनन्, म तिनीहरूलाई पनि भुल्ने छैन,’’ हाइसेले भने । हाइसेले २०२० मा क्लब लिग २ मा हुँदा पहिलो टोलीको जिम्मेवारी लिएका थिए ।

“हामीले भोगेको कुरा अविस्मरणीय छ,’’ हाइसेले थपे ।