काठमाडौं-नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको बताउनुभएको छ।
उपमहासचिव ज्ञावलीले प्रधानमन्त्री दाहाल सत्ता टिकाउनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको उल्लेख गर्नुहुँदै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन बुद्धिजीविहरु लागि पर्नु पर्ने बताउनुभयो।
त्रिभुवन विश्वविद्यालय र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
प्रधानमन्त्रीले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी विद्युत् खरिदसहितको सम्झौता गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
उपमहासचिव ज्ञवालीले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताउनु भयो।
पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढी आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।




प्रतिक्रिया