राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताउनु भएको छ।
अध्यक्ष तिमिल्सिनाले निरङ्कुशताका अनेक जन्जालहरूलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्त्वपूर्ण योगदान दिए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औँल्याउनुभएको हो। ‘योङ प्रोफेसनल फेलोसिप नेपाल–२०२३’ ले शुक्रवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूहरू र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताउनु भयो। नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उहाँले युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘हाम्रो जीवन वास्तवमा धेरै आन्दोलनमा बित्यो । व्यवस्था परिवर्तनका लागि बित्यो । हामीले निरङ्कुशताका अनेक जन्जालहरूलाई चुँड्दै आजको यो सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपालमा हामी प्रवेश गर्न पाएका छौं । यो म र मभन्दा अघिल्लो पुस्ताको अत्यन्तै ठूलो योगदान र देन हो । तर व्यवस्थामा परिवर्तन गरेर पनि अवस्था परिवर्तन गर्ने कुरामा अलमलिएका छौं । रुमलिएका छौं । यसकारण यो रुमलिएकोलाई युवाहरूले चिर्नु हुनेछ । र, नेपालको अवस्था सुधार गर्ने जिम्मेवारी यहाँहरूको काँधमा छ । यहाँहरूले भविष्यमा नेतृत्व गर्नुहोस् ।’
अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई लागू पदार्थको दुर्व्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूको सिको गर्दै हुने आपराधिक गतिविधिबाट मुक्त राख्दै सुसंस्कृत युक्त, सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहम् सवाल रहेको समेत बताउनु भयो । उहाँले युवा पुस्तालाई सूचना र प्रविधि विकाससँग भित्रिएको नकारात्मक प्रभावमा पर्न नदिन पनि सचेत गराउनुपर्ने बताउनु भयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘विश्वको एउटा कुनामा भएको सकारात्मक र नकारात्मक प्रभाव अर्को कुना तत्क्षण पर्दछ। तसर्थ आजको नवयुवाहरूमा विश्वको कुनै पनि भूभागमा हुने नकारात्मक कार्यको प्रभाव नपरोस् भन्ने कुरामा हामी सचेत हुन जरुरी छ। खास गरी लागू पदार्थलगायतका दुर्व्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमाबाट सिको गर्दै हुने आपराधिक गतिविधि र मानवता र प्रकृति बिरोधी क्रियाकलापहरूबाट मुक्त, सुसंस्कृत युक्त सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहम् सवाल हो भन्ने मलाई लाग्दछ । आजका युवाहरू भोलीको नेतृत्वकर्ता हुन्। उनीहरूलाई आवश्यक स्रोत, साधन, अवसर र मार्गदर्शन प्रदान गर्नु हाम्रो दायित्व हो । सोही बमोजिम राष्ट्रिय सभाको अध्यक्षको हैसियतले मैले पहलकदमी लिँदै आएको र भविष्यमा समेत युवा पुस्ताको विकासको सवालमा थप क्रियाशील हुने प्रतिबद्धता समेत व्यक्त गर्दछु । युवाहरू हाम्रा यस प्रयासका लाभग्राही मात्र नभई परिवर्तनका सक्रिय संवाहक हुन् भन्ने विश्वास ममा दृढ छ। उनीहरूको ऊर्जा, विचार र अनुरागसँग हाम्रो समाज परिवर्तनको शक्ति रहेको हुन्छ । हामीले चाहेको परिवर्तनको प्रारम्भ हामी आफैँबाट सम्भव छ । उमेर र ओहोदाको बाबजुद हामी प्रत्येकसँग रूपान्तरणको उत्प्रेरक हुने सामर्थ्य छ । विश्वले चाहेको परिवर्तनको संवाहक बन्न यस कार्यक्रम कोशेढुंगा साबित रहनेछ भन्ने मेरो विश्वास छ।’
अध्यक्ष तिमिल्सिनाले विश्वले चाहेको परिवर्तनको संवाहक युवा पुस्तालाई बनाउने काममा उत्प्रेरकको भुमिका निर्वाह गराउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनु भयो ।




प्रतिक्रिया