काठमाडौं-पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जाने भएकी छन्। एमालेको वरिष्ठ नेताका रूपमा सक्रिय राजनीतिमा फर्किएपछि उनको यो पहिलो विदेश भ्रमण हो।
वरिष्ठ नेता भण्डारी चीनको हेबेई प्रान्तस्थित सियोङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन जान लागेकी हुन्। फोरममा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिएका छन्।
चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गर्ने उक्त फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। आयोजक सीपीआईएफएका अनुसार गत शुक्रबारसम्म ग्लोबल साउथ, युरोप र अमेरिकालगायत क्षेत्रका करिब १०० देशका प्रतिनिधिको सहभागिता निश्चित भइसकेको छ।
फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने, विश्वव्यापी शासन प्रणालीमा सुधार गर्ने तथा साइबरस्पेस र अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौतीबारे छलफल हुनेछ। त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित प्रयोगलगायत समसामयिक विश्वव्यापी विषय पनि छलफलका प्रमुख एजेन्डा रहनेछन्।
सक्रिय राजनीतिमा पुनरागमनपछि भण्डारीको यो पहिलो विदेश भ्रमण भएकाले उनको चीन भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।



प्रतिक्रिया