वीरगञ्ज (पर्सा)-वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा छापा मारेर चार जना नेपाली नागरिक र एक जना क्यासिनो कर्मचारीलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४ का ५० वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवासकुमार, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद र रौतहटको बौधिमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसाद रहेका छन्। त्यस्तै, क्यासिनोमा कार्यरत बारा जिल्लाको परवानीपुर गाउँपालिकाका सुनिल पटेललाई पनि प्रहरीले पक्राउ गरेको छ।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ। छापामारीका क्रममा नगद, क्यासिनोमा प्रयोग हुने क्वाइन, मोबाइल फोनलगायत सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यसअघि पनि प्रहरीले वीरगञ्जको उक्त क्यासिनोमा छापा मारेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिएका छन्।



प्रतिक्रिया