अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लावासीको साथमा म छु: अध्यक्ष ओली

हुम्लावासीको साथमा म छु: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले हुम्लाको सदरमुकामसम्म अझै मोटर नपुगेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। 

आदिवासी जनजाति दिवसको अवसरमा आयोजित हुम्लाका युवाको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा हुम्लाको सदरमुकामसम्म मोटर बाटो पुर्‍याउन प्रयास गरेको भए पनि चट्टानी पहाडको कारण सोचे जस्तो तीव्र रूपमा काम हुन नसकेको बताउनुभयो ।

हुम्लाको तल्लो भागदेखि माथिल्लो लिमि भ्याली र लिमि दाप्चासम्म आफू पुगेको उहाँले बताउनुभयो । त्यहाँको पर्यटकीय विकासमा योगदान पुगोस् भनेर आफू त्यहाँसम्म पुगेको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले ती ठाउँ देखेको छु, त्यहाँको दुर्गमता देखेको छु, त्यहाँका अप्ठ्यारो जिन्दगी देखेको छु र त्यस जिन्दगीलाई सहज र सुखमय जिन्दगीमा परिणत गराउनका लागि के गर्न सकिन्छ त्यस बारेमा सोच्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गरेको छु।’ 

आदिवासी जनजातिले आफ्नो थर र पहिचान लेख्न पाउनु आधारभूत अधिकार भएको उहाँले बताउनुभयो । यस विषयमा सरकारले टाउको दुखाउनु नपर्ने प्रष्ट पार्नुभयो।

आफूले लिमि भ्यालीका तीन जना छोरीहरूलाई काठमाडौं ल्याएर पढाएको उहाँले स्मरण गराउनुभयो । लिमि भ्याली तिर अरू पनि केही विकासका काम गर्न सकिन्छ कि भनेर आफूले केही सोचिरहेको उहाँले बताउनुभयो। 

कतिपय मानिसहरूले त्यहाँदेखि विद्यार्थी ल्याएर केपी ओलीले के खर्चले पढाउँछ भनेर प्रश्न गरेको भन्दै ओलीले यो श्रोत परिचालन गर्ने कुरा भएको बताउनुभयो। विभिन्न व्यक्ति, संस्था, विद्यालयले त्यस्ता काममा सहयोग गर्ने, आफूले केवल परिचालन मात्र गर्ने उहाँले प्रष्ट पार्नुभयो। 

उहाँले आफू हुम्लावासीको साथमा रहेको बताउनुभयो । ‘हुम्ला निवासी दाजुभाइ, दिदीबहिनीलाई म भन्न चाहन्छु तपाईँहरूको साथमा म छु’, उहाँले भन्नुभयो । 

ओलीले आफूले हुम्लावासी युवालाई सबै खालको सहयोग गर्ने बताउनुभयो। आफूले हुम्लावासीलाई सधैँ सम्झी रहने र आफूलाई पनि आवश्यक परेको बेला सम्झन आग्रह गर्नुभयो ।