अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन: मन्त्री किराँती

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन: मन्त्री किराँती


काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताउनु भएको छ। 

बुधवार काठमाडौंमा टुरिस्ट बस एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न नसकिने बताउनु भयो । उहाँले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि तत्काल आउन नसक्ने बताउनु भयो । उहाँले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताउनु भयो। उहाँले पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवर्द्धन गर्ने रहेको बताउनु भयो।

मन्त्री किराँतीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्टाएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको बताउनु भयो । उहाँले आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचना हुने कमिसनको खेल शून्य बनाएर छाड्ने बताउनु भयो। मन्त्री किराँतीले पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताउनु भयो। उहाँले दुई छिमेकी राष्ट्रको जनसङ्ख्या १३ अर्ब र अर्कोको डेढ अर्ब रहेको भन्दै पर्यटन प्रवर्द्धनको लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भुटान, बंलादेश र नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूमा पनि जोड्ने प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले पर्यटन बोर्डले बजेटमा भौतिक संरचना निर्माण हटाएर पर्यटन प्रवर्द्धन गर्ने योजना नसच्याएसम्म बोर्डको बजेट नआउने बताउनु भयो। उहाँले  बोर्डका आजसम्मका विकृति,विसङ्गतिहरू अन्त्य गर्न चाहेको उल्लेख गर्नुभयो ।

मन्त्री किराँतीले पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महँगा सामानहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको बताउनु भयो । उहाँले पर्यटन बोर्ड बिना पनि यो देश चल्न सक्ने भन्दै पर्यटन बोर्डले तत्काल बजेट सच्याए बजेट पास हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्यटन बोर्डको बजेट सच्चिएन भने अझै आउँदैन। अहिले नै बोर्डको बजेट हतारमा पास गरेर फेरि पनि कसैको दुनो सोझाउनको लागि बजेट आउँदैन । भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको होइन । मैले सुरुमा नै बोर्डमा आएर भनेको छु । भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग छ। पर्यटन विभागले पर्यटनसम्बन्धी भौतिक संरचना निर्माण गर्ने हो । पर्यटनको प्रवर्धन बोर्डले गर्ने हो । भौतिक संरचनामा बजेट छुट्टाएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भयो । म आइसकेको छु यो मन्त्रालयमा म हुन दिन्न । भौतिक संरचनामा कमिसन खेल शून्य बनाएर छोड्छु । पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड पैसा युरोप भ्रमणमा पाइँदैन। हाम्रा दुई छिमेकी राष्ट्रको जनसख्या १३ अर्ब र अर्कोको डेढ अर्ब छ। चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्छ । भुटान र बंलादेशमा पनि जोड गर्नुपर्छ । नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूलाई पनि बनाउनु पर्छ । अनि मात्रै युरोपलाई पनि बनाउँला । त्यसैले यस्तो चीजहरू सच्चिँदैन भने पर्यटन बोर्डको बजेट आउँदैन । बोर्डका आजसम्मका विकृति,विसङ्गतिहरू अन्त्य गर्न चाहन्छु । पर्यटन बोर्डको पैसा माथि चयन गर्ने सुविधा कसैलाई छैन। आफू त घुम्छन् । त्यति मात्रै होइन आफ्नो साली,साढभाई घुमाउने, मित बुबा र आमा घुमाउने कसैलाई छुट छैन । विदेशमा जाने महँगा रक्सी,घडीहरू र मोबाइलहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा पनि कसैलाई छैन । पर्यटन बोर्डको बजेट सुधार नभएसम्म बजेट पास हुँदैन । कति महिना रोक्नुपर्ने हो । पर्यटन बोर्ड विना पनि यो देश चल्न सक्छ । तर विकृतिको डङ्गुर माथि बसेर जनताको पैसामाथि चयन गर्ने छुट सुविधा छैन । पर्यटन बोर्डले आजभोलि नै बजेट सच्याउने छ । त्यसपछि बजेट पास हुन्छ ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनु भयो। उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउँदा सबैभन्दा पहिला मन्त्री पद त्याग्नुपर्छ भने मन्त्री पद त्याग्न तयार रहेको बताउनु भयो। मन्त्री किराँतीले आफू मन्त्री हुनको लागि नजन्मिएको भन्दै राष्ट्रिय आवश्यकता अनुसार तत्काल कुर्सी छोड्न तयार रहेको बताउनु भयो। उहाँले राजनीतिक स्थायित्वको लागि पुरानाको अनुभव र नयाँको जोसजागर मिलाएर अगाडि बढ्नुपर्ने बताउनु भयो। आजदेखि टुरिस्ट बस एसोसिएसन अफ नेपालले टुरिस्ट बसको टिकट अनलाइनको माध्यमबाट काट्न सक्ने गरी ‘टुरिस्ट बस नेपाल’ एप्स सञ्चालनमा ल्याएको छ।

Skip This