अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महादेवपोखरी कुण्ड र कालदहमा दर्शनार्थीको घुइँचो

महादेवपोखरी कुण्ड र कालदहमा दर्शनार्थीको घुइँचो


भक्तपुर-सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै  मेला लागेको छ।

रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पूण्य प्राप्त हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनैपूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ।

हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका भक्तजन आएका चाँगुनारायण–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो।

महोदवपोखरीमा मेला भर्न यहाँ बुधबारदेखि नै भक्तजनको घुइँचो लागेको जनाउँदै यहाँको कुण्डमा स्नान गरी महादेवको पूजा गरे मनोकाङ्क्षा पूरा हुने, रोग हट्ने र पुण्य प्राप्त हुने जनविश्वास रहेको उहाँले बताउनुभयो।

गोसाइँकुण्डको पानी महादेवपोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजाने यहाँ आउने पुरानो परम्परा रहेको बताउँदै वडाध्यक्ष लामाले कुण्डमा विभिन्न जातजातिका समुदायले आआफ्नो परम्पराअनुसार पूजा झाँकीसहित आएर मेला भरेको बताउनुभयो ।

त्यसैगरी साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन आज बिहानैदेखि भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदह अर्थात् महादेव पोखरीमा मेला लागेको छ । जनैपूर्णिमाको दिनमा यस दहमा स्नान गरी महादेवको पूजा गर्न भक्तजनको बिहानैदेखि ठूलो घुइँचो लागेको हो।

विशेषगरी स्थानीय नेवार समुदायका गोसाइँकुण्ड जान नसक्ने भक्तजन यस कालदहमा आई स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ। कालदहको स्नान र पूजाअर्चनापछि भक्तजनले नयाँ रक्षाबन्धन बाँध्ने गर्दछन् ।