काठमाडौं-चीनले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले चीन भ्रमण रद्द गर्नु भएको छ।
आज सामाजिक सञ्जालबाट मेयर बालेनले यसअघि देखि नै तय भएको चीन भ्रमण नैतिकका आधारमा रद्ध गरेको जानकारी गराउनु भएको हो।
चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका लागि उहाँ आज बेइजिङतर्फ जाने कार्यक्रम तय भएको थियो।
मेयर शाहले फेसबुकमा लेख्नु हुन्छ, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको पाँच दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो।





प्रतिक्रिया