काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋण भन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताउनु भएको छ ।
बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताउनु भयो।
पूर्व मन्त्री पाण्डेले नेपालको बाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको उल्लेख गर्नुभयो। उहाँले आन्तरिक ऋणको वृद्धि तीव्र रूपमा बढ्दै गएकाले आगामी दिनहरूमा आन्तरिक ऋण वैदेशिक ऋण भन्दा बढी हुने अवस्था देखिएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको बताउनु भयो । उहाँले सरकारलाई आन्तरिक ऋण चुनौती र महँगो दुवै भइरहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौती र जटिलता रहेको बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षको पहिलो महिना देखि नै लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन नसकेको बताउनु भयो ।
पूर्व मन्त्री पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरू खान नपाएर मर्ने अवस्था आउन सक्ने बताउनु भयो। उहाँले आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरू महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गर्ने भने पनि १० प्रतिशत माथि मूल्यवृद्धि पुग्ने लक्षण देखिएको दाबी गर्नुभयो । उहाँले बल, वुद्धि र पैसा भएकाहरू युवाहरू विदेश जाने पठाएर केही नभएकाहरूलाई लिएर सरकारले देश बनाउने कुराले मुलुक समृद्ध हुन नसक्ने बताउनु भयो।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय देशको वैदेशिक ऋण वृद्धि भयो भन्ने छ। तर नेपालको विदेशी ऋण भन्दा पनि पछिल्ला दिनहरूमा आन्तरिक ऋण बढी रहेको छ। अरू देशहरूको भन्दा परक समस्या छ। ५ देखि ७ वर्षको अन्तर्रालमा नेपालको १० खर्बमाथि आन्तरिक ऋण बढ्यो। नेपालको वाह्य र आन्तरिक ऋण बराबर जस्तो छ। जुन आन्तरिक ऋणको वृद्धि तीव्र छ। अब आउने दिनहरूमा आन्तरिक ऋणले वैदेशिक ऋण भन्दा बढी हुन्छ। चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब जति छुटाएको। अहिलेको अवस्था हेर्दा सबै लिने अवस्था देखिएको छ। राजश्व सङ्कलन भइरहेको छैन । नेपाललाई आन्तरिक ऋण चुनौती र महँगो छ। कम्तीमा १० प्रतिशत ब्याजमा लिइरहेका छौं। यो कुरालाई सरकारले कसरी सम्बोधन गर्न सक्छ । यो वर्ष एकदमै चुनौती र जटिलता रहेको छ। अर्थमन्त्री कति सिरियस हुनुहुन्छ थाहा भएन। पहिलो महिनादेखि नै लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन सकेको छैन। भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने भनेको छ। यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुरा गरेका छौं। अर्को वर्ष मान्छेहरू खान नपाएर मर्ने त होइनन्। आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको छ । यसले खाद्यान्न लगायतका वस्तुहरू महँगो हुने र जनता मारमा पर्ने अवस्था छ। सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गछु भने पनि १० प्रतिशत मूल्यवृद्धि पुग्ने लक्षण देखिएको छ। यो वर्ष धेरै चुनौतीहरू देखिन्छन् । अर्को नेपालका युवाहरू पढेका,पैसा भएका र बल भएकाहरू पनि बाहिर गइरहेका छन् । बल,वृद्धि र पैसा भएकाहरू विदेश जाने अनि केही नभएकाहरूलाई लिएर हामीले देश बनाउने कुरा गरेका छौं ।’
उहाँले नेपालमा भारत र चीनबाट मात्रै ठूलो सख्यामा पर्यटक भित्र्याउनसके भने अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताउनु भयो । उहाँले मुलुक आर्थिक रुपमा समृद्ध हुनको लागि विदेशी मुलुकहरुको सहयोग पनि अपरिहार्य रहेको बताउनु भयो । उहाँले अवसर नदेखेर विदेश जाने युवाहरुलाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।




प्रतिक्रिया