अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युतीय सवारीसाधनलाई थप प्रवद्र्धन गरिने छ: ऊर्जामन्त्री बस्नेत

विद्युतीय सवारीसाधनलाई थप प्रवद्र्धन गरिने छ: ऊर्जामन्त्री बस्नेत


काठमाडौँ-विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल इभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्नुहुँदै मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको  प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको बताउनुभयो।

ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत् विधेयक तय गरेको र सङ्घीय संसद्मा पेस हुने चरणमा रहेको मन्त्री बस्नेतको भनाइ छ । विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि देशभर नै चार्जिङ स्टेशनको निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ।

सरकारले देशभर नै पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ। यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन्।

वातावरणीय सुरक्षा र जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि पनि स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता बढेर गएको स्पष्ट पार्दै मन्त्री बस्नेतले सोही दिशामा सरकारले आफ्नो लक्ष्य तय गरेको बताउनुभयो । विद्युतीय सामग्रीको प्रयोगमा बढावा दिनु भनेको वातावरणको संरक्षण गर्नु पनि हो भन्ने मान्यताको विकास गराउन मन्त्रालयले योजनाबद्ध पहल थालेको उहाँको भनाइ छ।

प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, यहाँस्थित भारतीय दूतावासका प्रतिनिधिलगायतको उपस्थिति थियो। आजदेखि तीन दिनसम्म चल्ने नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनीमा विद्युतीय सामग्रीका बारेमा जानकारी लिन सकिनेछ।

तीनदिने उक्त प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स, एक्जिविसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एन्ड इम्पोर्टर्स एशोसिएसन अफ नेपालको संयुक्त आयोजना रहेको छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका प्रदर्शनी कक्ष रहेका छन्।

प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहेको उद्घाटनका क्रममा जानकारी दिइयो। प्रदर्शनीको सहयोगी संस्थामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरणलगायत रहेका छन्।

Skip This