अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसिया कप : आज नेपाल र भारत भिड्दै

एसिया कप : आज नेपाल र भारत भिड्दै


काठमाडौँ-एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । खेल दिउँसो सवा ३ बजे श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट रंगशालामा हुनेछ । 

आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक आज खेल्ने छ । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो । नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । 

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो ।  

यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत आज नेपालसँगको खेल गुमाउने भएका छन् । बुमराह व्यक्तिगत कारणले श्रीलंकाबाट भारत प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल छन् ।