अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्छ: अध्यक्ष ओली

राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्ने बताउनु भएकाे छ।

आज काठमाडौँमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन-आइक्याप ले आयोजना गरेको स्थायी समितिको चौधौं बैठक र एशिया-युरोप राजनीतिक मञ्चको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभई दीर्घकालिक राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो।  

अध्यक्ष ओलीले राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था भएको बताउनु भयो।

अध्यक्ष ओलीले कुनैपनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताउनु भयो। 

उहाँले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवर्द्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू सबैका लागि उत्तिकै प्रिय रहेको र यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने बताउनु भयो।

अध्यक्ष ओलीले विश्वका समस्या समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नका लागि सबैलाई आह्वान गर्नुभयो। सम्मेलनमा दिगो पर्यटन प्रवर्द्धन र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षामाथि गहन छलफल हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा एसियाली राजनीतिक दलका नेताहरू सहभागिता रहेको छ।