काठमाडौं-नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिले नेपालीहरूको दोस्रो ठूलो चाड शुभदीपावली (बलिहाङ तिहार) तथा नेपाल संवत्को अवसरमा सामूहिक देउसी-भैलो र शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। समितिले २०८३ साल कात्तिक २३ गते सोमबार काठमाडौंको मित्रनगर, नयाँ बसपार्क नजिकै तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को हलमा बिहान १०:३० बजेदेखि कार्यक्रम गर्न लागेको हो।
नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षझैँ यस वर्ष पनि सामूहिक देउसी-भैलो कार्यक्रम आयोजना गर्न लागिएको समितिका कार्यवाहक अध्यक्ष रोजकुमार मगरले जानकारी दिए। उनका अनुसार कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता रहनेछ।
जन्मथलो उदयपुरबाट काठमाडौं उपत्यकामा आई विभिन्न पेसा, व्यवसाय तथा विभिन्न क्षेत्रमा आबद्ध भएर बसोबास गरिरहेका मगर समुदायका सदस्यलाई एकै ठाउँमा भेला गराउने कार्यक्रमको उद्देश्य रहेको कार्यवाहक अध्यक्ष मगरले बताए।

कार्यक्रमलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न उदयपुरका विभिन्न स्थानीय तहबाट काठमाडौं उपत्यकामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्दै आएका मगर समुदायका सम्पूर्ण व्यक्तित्वहरू, विभिन्न पेसा तथा व्यवसायमा आबद्ध बुद्धिजीवी, समाजसेवी, शिक्षक, पत्रकार, वकिल, कर्मचारी, विद्यार्थी, कलाकारलगायत आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिका लागि समितिका कार्यवाहक अध्यक्ष मगरले हार्दिक अनुरोध गरेका छन्।
त्यसैगरी, उदयपुरका विभिन्न पालिका तथा नगरपालिकाबाट काठमाडौंमा बसोबास गर्ने गैरमगर समुदायका महानुभावहरू, विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, संघ-संस्थाका प्रतिनिधि, समितिका सल्लाहकार, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई समेत कार्यक्रममा सहभागी भई सामूहिक देउसी-भैलो तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन कार्यवाहक अध्यक्ष मगरले आग्रह गरेका छन्।
देउसी-भैलो कार्यक्रममा नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, सम्पर्क समन्वय केन्द्रीय समिति अन्तर्गतका भातृ सङ्गठनका पदाधिकारहरू, प्रदेश इन्चार्ज, सम्पर्क समितिका जिल्ला अध्यक्ष तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवी, बुद्धिजीवि, व्यावसायी, शिक्षक, पत्रकार, वकिल, कर्मचारी, विद्यार्थी, कलाकार तथा मगर समुदायका शुभेच्छुक र शुभचिन्तकलाई निमन्त्रणा गरिएको समितिका सचिव गणेश मगरले बताए।
यस वर्षको देउसी-भैलो कार्यक्रमलाई सांगीतिक प्रस्तुति, नाचगान र मनोरञ्जनले थप आकर्षक बनाउने तयारी गरिएको समितिका वरिष्ठ उपाध्यक्ष तथा सांस्कृतिक विभागका संयोजक भुवन पुवँर मगरले बताए। उनका अनुसार कार्यक्रममा स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
कलाकारहरूको प्रस्तुति, गीत–संगीत र नाचगानसहित देउसी–भैलोको भरपूर मनोरञ्जन लिन तथा मौलिक संस्कृति संरक्षणमा सहभागी हुन सांस्कृतिक विभागका संयोजक पुवँर मगरले सबैलाई आग्रह गरे।
समितिका सल्लाहकार संयोजक शेरबहादुर बलम्पाकी मगरले देउसी-भैलो मनोरञ्जनको माध्यम मात्र नभई धार्मिक, सांस्कृतिक तथा परम्परागत पहिचान संरक्षण गर्ने महत्त्वपूर्ण अभ्यास भएको बताए। मगर समुदायमा तिहारलाई बलिहाङ तिहारका रूपमा मनाउने विशिष्ट परम्परा रहेको उल्लेख गर्दै उनले यसको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेको बताए।
‘नेपालीहरूको दशैँपछि ठूलो चाड तिहार (बलिहाङ) हो। यस अवसरमा धार्मिक, सांस्कृतिक रीतिरिवाज तथा परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु नै हाम्रो कार्यक्रमको मुख्य उद्देश्य हो। त्यसैमा केन्द्रित भएर देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने प्रयास गरेका छौँ,’ सल्लाहकार संयोजक बलम्पाकी मगरले भने।



प्रतिक्रिया