काठमाडौं-नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमा आधारित हुनुपर्ने बताएका छन्। उनले बदलिँदो विश्व भूराजनीतिक परिस्थितिमा कुनै पनि शक्तिराष्ट्रको प्रभावमा नपरी नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीति कायम राख्नुपर्नेमा जोड दिएका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल-चीन सम्बन्धमा त्यसको प्रभाव’ विषयक गोष्ठीमा बोल्दै नेता ज्ञवालीले नेपालको भौगोलिक तथा भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्ने बताए।
चीनको कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकसम्बन्धी गोष्ठीमा उनले चीनले विश्व राजनीतिमा आफ्नो प्रभाव र भूमिका विस्तार गर्ने पृष्ठभूमि तयार गरिसकेको उल्लेख गर्दै त्यसलाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने बताए। नेपालले चीनबाट धेरै कुरा सिक्न सक्ने उनको भनाइ थियो।
नेता ज्ञवालीले गौतम बुद्धको शान्ति र सहअस्तित्वको मार्गले समेत नेपालको परराष्ट्र नीतिलाई प्रभावित पारेको उल्लेख गरे। अहिले नेपालले कस्तो सन्तुलित परराष्ट्र नीति अपनाइरहेको छ भन्ने कुरा सबैसामु स्पष्ट रहेको भन्दै उनले सन्तुलित नीति नहुँदा मुलुकले गम्भीर चुनौती सामना गर्नुपर्ने चेतावनी दिए।
नेपाल र चीनबीच भएका कतिपय सम्झौता कार्यान्वयन हुन नसक्दा विकास निर्माणका काम प्रभावित भएको पनि उनले बताए। भारत र चीन दुवै छिमेकी मुलुकसँग कनेक्टिभिटीका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले यसबाट नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने धारणा राखे।
विश्वमा बढ्दै गएको द्वन्द्वले विभिन्न क्षेत्रमा चुनौती थपिरहेको उल्लेख गर्दै ज्ञवालीले गरिबी न्यूनीकरण र विकासमा चीनले महत्त्वपूर्ण भूमिका खेलेको बताए। सत्ताधारी पार्टीको छवि स्वच्छ र विश्वसनीय भए विकासका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सहज हुने उनको भनाइ थियो।
फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसिप फोरमले संयुक्त रूपमा गोष्ठी आयोजना गरेका हुन्।



प्रतिक्रिया