काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते जेलमुक्त हुने भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार उनको कैद सजायमा २५ प्रतिशत छुट दिइएपछि रिहाइको बाटो खुलेको हो।
रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा छुट माग गर्दै काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अदालतले उनको कैद अवधि संशोधन गरी कारागार कार्यालय डिल्लीबजारलाई नयाँ कैदीपुर्जी पठाएको छ।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार संशोधित कैदीपुर्जीअनुसार रायमाझी कात्तिक २६ गते रिहा हुनेछन्।
रायमाझीले कात्तिक २५ गते ६५ वर्ष उमेर पूरा गर्दैछन्। ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाले ६५ वर्ष उमेर पूरा गरेका कैदीलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने प्रावधान गरेको छ। यही सुविधाअनुसार उनको कैद अवधि घटाइएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो।
रायमाझी कारागारमुक्त भए पनि मुद्दाको कानुनी प्रक्रिया भने समाप्त हुने छैन। मुद्दा उच्च अदालतमा विचाराधीन रहेकाले त्यसको निरूपण कानुनी प्रक्रियाबाटै हुने बताइएको छ।
माओवादी राजनीतिबाट उदाएका रायमाझीले विभिन्न समयमा मन्त्री तथा उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा लगातार निर्वाचित भएका थिए।



प्रतिक्रिया