काठमाडौं-प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आज (बुधबार)देखि काठमाडौंमा सुरु हुँदैछ। अधिवेशनमा विश्वका ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन्।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आजदेखि, उद्घाटन वरिष्ठ नेता विद्यादेवी भण्डारीले गर्ने
अधिवेशन दिउँसो ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुँदैछ। अधिवेशनको उद्घाटन नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको नेकपा (एमाले) का प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति चयन गर्नेछ।
अधिवेशनका प्रमुख एजेन्डामा नेपाली श्रमिकहरूको अधिकार, वंशजको नागरिकताको निरन्तरता तथा संवैधानिक र राजनीतिक अधिकार सुनिश्चित गर्ने विषय रहेका छन्। त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत प्रवासमा सक्रिय विभिन्न संघसंस्थासँगको सम्बन्ध र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने आयोजकले जनाएको छ।
हाल प्रवासी नेपाली मञ्चको राष्ट्रिय कमिटी विश्वका ३८ देशमा सक्रिय रहेको छ। पाँचवटा महादेशमा महादेशीय कमिटी तथा ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको आयोजकको भनाइ छ। मञ्चमा प्रवासमा रहेका दशौँ हजार नेपाली आबद्ध रहेको दाबी गरिएको छ।
अधिवेशनको समापन समारोहलाई नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



प्रतिक्रिया